काठमाडौं । वि.सं. २०४९ सालमा ‘अविरल’ गीति एल्बममार्फत् सांगीतिक यात्रा सुरु गरेका गीतकार वसन्त वित्यासी थापा र संगीतकार राजु सिंहको जोडीको नयाँ गीत ‘तिमी मेरो साथी’ सार्वजनिक भएको छ । तीन दशकभन्दा लामो समय नेपाली संगीत क्षेत्रमा निरन्तर योगदान दिँदै आएका जोडीको निरन्तर यात्रामा ‘तिमी मेरो साथी’ सार्वजनिक भएको हो । यो जोडीको तयारीमा रहेको सातौँ एल्बम ‘तिमी मेरो साथी’ शीर्ष गीत यतिबेला सार्वजनिक भएको हो ।

उक्त एल्बममा समावेश ‘फूलभन्दा कमी छैन’ बोलको गीतको भिडियो केही समयअघि नै सार्वजनिक भइसकेको छ । गीतमा चर्चित गायक राजेशपायल राईले स्वर दिनुभएको छ । गीतले सार्वजनिक भएयता दर्शक श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाएको छ ।

एल्बमका अन्य केही गीत रेकर्डिङका क्रममा रहेका छन् । यसैबीच, एल्बमको शीर्षक गीत ‘तिमी मेरो साथी’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतमा स्वरूपराज आचार्यको स्वर रहेको छ । यस गीतको संगीत संयोजन प्रदीप श्रेष्ठले गरेका छन् भने रेकर्डिङ राजेश श्रेष्ठको रहेको छ । गीतको मिक्सिङ,मास्टरिङ किशोर थापाको रहेको छ भने भिडियो सम्पादन विनोद बमले गरेका छन् ।

विशेषता के छ भने, यस लिरिकल भिडियोमा गीतकार वसन्त र संगीतकार राजुका विभिन्न समयका पत्रपत्रिकामा प्रकाशित समाचार तथा अन्तर्वार्ताका अंश समेटिएको छ । यसले उनीहरूको सांगीतिक यात्रालाई दस्तावेजीय स्वरूपमा प्रस्तुत गर्दै सिर्जनात्मक संघर्ष, निरन्तरता र उपलब्धिलाई एउटै फ्रेममा उतारेको छ ।

Nepal Telecome

तीन दशकदेखि निरन्तर सहकार्य गर्दै आएको यो सर्जक जोडीले नयाँ पुस्तासमेतलाई जोड्ने उद्देश्यका साथ ‘तिमी मेरो साथी’ एल्बमलाई अझ परिष्कृत र समसामयिक शैलीमा तयार गरिरहेको जनाएको छ । नेपाली आधुनिक गीत(संगीतमा स्थापित यो जोडीको सातौं एल्बमले पुनः एकपटक श्रोतामाझ गहिरो छाप छोड्ने अपेक्षा गरिएको छ । यो जोडीको ‘अनुरोध’, ‘ठुल्नानी’, ‘गहना’, ‘मित्रता’ र ‘दशक’ गरी हालसम्म ६ वटा गीति एल्बम सार्वजनिक भइसकेको छ।