काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ निर्वाचन गराई राजनीतिक सुशासन कायम गर्न सबैले जिम्मेवार भई योगदान गर्न आवश्यक रहेको बताएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बांके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन् ।
गृहमन्त्री अर्यालले हालसम्म बांके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए । साथै उनले निर्वाचन आचार संहिताको पालना गर्न गराउन र कानून उलंघन गर्नेलाई कानूनी दायरामा ल्याउन निर्देशन दिए ।
गृहमन्त्री अर्यालको नेतृत्वमा गृह सचिव राजकुमार श्रेष्ठ, तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल,नेपालका प्रहरी महानिरीक्षकहरु सहितको टोलीले बांके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा स्थलगत अनुगमन गरेको हो ।
अनुगमनको क्रममा बांके जिल्लाको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको लुम्बिनी प्रेदेश प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, अनुगमन अधिकृतहरु लगायतको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रममा बांकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जिल्लामा हालसम्म भएका निर्वाचन सम्बन्धी गतिविधिहरु, एकीकृत निर्वाचन सुरक्षा योजना,सुरक्षाकर्मी परिचालन रणनीति, मतपेटिका ढुवानी योजना लगायतको बिषयमा प्रस्तुतिकरण गरेका थिए । सो क्रममा गृह सचिव राजकुमार श्रेष्ठले सबै सुरक्षा निकायहरु आपसमा समन्वयात्म ढंगले समुह भावनाका साथ परिचालित भई निर्वाचन सफल बनाउन निर्देशन दिए ।
उक्त कार्यक्रमपश्चात गृहमन्त्री अर्यालले बांके स्थित केहि पत्रकारहरुसँगको सक्षिप्त भेटघाटको क्रममा पत्रकारहरुको सवाललाई संबोधन गर्दै निर्वाचनको माहोल राष्ट्रिय रुपमै उत्साहजनक हिसाबले वढीरहेको र बांकेके हालसम्मको तयारीले समेत त्यसैलाई पुष्टि गर्ने बताए ।