" /> प्रेदश ५ को नाकामा १६ सय नेपाली अलपत्र – News of Global

न्यूज अफ ग्लोबल शनिबार, जेठ ०३, २०७७

बुटवल । स्वदेश फर्किन पाउने प्रतीक्षामा प्रदेश ५ का जिल्लाको भारतसँगको सीमावर्ती क्षेत्रमा १६ सय जना नेपाली रहेको प्रमुख जिल्ला अधिकारीहरुले दावी गरेका छन् । यो संख्या ६ जिल्लाका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेका नेपालीको आधिकारिक तथ्यांक हो । लकडाउनकै बीच भारतले रेल सेवा शुरु गरिसकेकाले घर फर्कने क्रममा सीमा क्षेत्रमा आइपुगेका नेपालीको संख्या दिनहुँ बढेको भए पनि यकीन तथ्यांक आफूहरुसंग नभएको सम्बन्धित जिल्लाका अधिकारीहरुको भनाइ छ ।

स्वदेश फर्कने पखाईमा बसेका नेपालीहरु सीमा नाकामा असुरक्षित र कष्टपूर्ण ढंगले दिन बिताउन वाध्य छन् । कतिपय नाकामा अलपत्र नेपालीले राम्रोसंग खाना र शुद्ध पानी पिउन समेत पाउन छाडेका छन् । कैंयौं नेपालीहरु बेखर्ची हुन थालेका कतिपय विरामी पर्न थालेका छन् । सीमामा अलपत्र पर्नेमा बृद्ध–बृद्धा, बालबालिका र सुत्केरी पनि छन् । नेपालीलाई भारतीय पक्षले सीमा क्षेत्रसम्म ल्याएर छाडिदिने गरेको छ ।

यसरी अलपत्र परेकामध्ये सबैभन्दा धेरै नेपालीहरु नौतनवामा छन् । त्यहाँका ९ वटा क्वारेन्टाइनमा २१ दिन बसाई पूरा गरेका नेपालीको संख्या अझै एक हजारको हाराहारीमा रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

उनीहरु रुपन्देहीको बेलहिया नाका हुंदै साविकको लुम्बिनी अञ्चल र गण्डकी प्रदेशका जिल्ला जानेहरु हुन् । ‘एक हजार जनालाई तीन पटक गरेर नेपाल भित्र्यायौं’–प्रजिअ पन्थले भने–‘क्वारेन्टाइनको व्यवस्थापन गर्न ढिला हुँदा अझै एक हजार जनालाई ल्याउन सकेका छैनौं ।’

भारतमा अलपत्र परेकालाई नेपाल ल्याएर क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरेर मात्र घर जान दिने नीति भएकाले यी सबैको व्यवस्था नहुँदा ल्याउन नसकिएको उनले स्वीकार गरे । शुक्रबार राति २ सय ५० जनालाई कञ्चन गाउँपालिका, सैनामैना र बुटवलका क्वारेन्टाइनमा पठाइएको उनले बताए ।

कपिलवस्तुका कृष्णनगर,चाकरचौडा, दोहनीलगायत नाकामा तीन सय जना नेपाली केही दिनदेखि अलपत्र परेका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । ‘अहिलेसम्म करिब १० हजार जना भारतबाट आएकाहरु भित्रिए, ५५ सय त क्वारेन्टाइनमै बसेका छन्’ उनले भने, ‘भारत र अन्य मुलुकमा रोजगारी गर्न गएका कम्तीमा १५ हजार जना आउने क्रममा छन् ।’

दाङ जिल्ला आउने क्रममा बाँकेको रुपैडिया र कपिलवस्तुको कृष्णनगरमा ७७ जना रोकिएका दाङका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण अधिकारीले बताए ।

‘४३ जना रुपैडिया र ३४ कृष्णनगरमा रोकिएका छन्’–उनले भने, ‘अहिलेसम्म जिल्लाका ६ हजार जना भारत र अन्य मुलुकमा रोजगारीका लागि गएकाहरु फर्किंदै छन् ।’

बाँकेको सीमा नाका जमुनाहमा भारतको लक्ष्मीपुर क्वारेन्टाइनमा बसेर आएर ७५ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । ‘लकडाउन शुरु भएपछि जमुनाहबाट एक हजार र नरैनापुरबाट ४ सय जना ल्याइसक्यौं’, उनले भने ‘अझै तीन हजार आउने अनुमान छ ।’

बर्दियामा बांकेको रुपैडिया नाकामा रोकिएर ६४ जना केही दिनदेखि अलपत्र परेका जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए । बर्दियामा लकडाउनका बीचमा कतिजना भित्रिए भन्ने यकीन तथ्यांक नभएको उनले आउने पर्खाइमा रहेका नवलपरासी पश्चिममा भने पाँच सयजना लकडाउनकै बीचमा भित्रिसकेका र भारतीय सीमामा कोही पनि अलपत्र अवस्थामा नभएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।

सरकारले मुख्य नाकाबाट वैधानिक रुपले आफ्ना नागरिकलाई आउन नदिँदा खुला सीमाको फाइदा उठाउँदै कैयौं नेपालीहरु लुकिछिपी घर आउने गरेका छन् । लुकिछिपी आउनेहरु क्वान्रेन्टाइनमा नगई घरमा बस्दा कोरोना संक्रमणको जोखिम झनै बढ्ने देखिन्छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]