रौतहट । मुलुक यतिबेला प्रतिनिधि सभा निर्वाचनको मतगणनामा होमिएको छ । यसैक्रममा मधेश प्रदेशको राजनीतिक केन्द्र मानिने रौतहट जिल्लाको पछिल्लो मतपरिणामले धेरैलाई चकित तुल्याएको छ ।
जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार अग्रता कायम गरेको छ भने एउटा क्षेत्रमा नेपाली कांग्रेसले आफ्नो साख जोगाउँदै अग्रता लिइरहेको छ ।
रौतहटको क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा खुम्चिएका यस क्षेत्रको सबैभन्दा ठूलो राजनीतिक फेरबदलका रूपमा हेरिएको छ ।

यहाँ रास्वपाका उम्मेदवार राजेश चौधरीको फराकिलो मतले अग्र स्थानमा छन् । मुख्य निर्वाचन अधिकृत मनोज केसीका अनुसार
राजेशकुमार चौधरी (रास्वपा): २१,५८८ मत (अग्रता)
अजयकुमार गुप्ता (नेकपा एमाले): ८,११० मत
अनिलकुमार झा (नेपाली कांग्रेस): ६,०९४ मत
माधवकुमार नेपाल (नेकपा एस): ५,४७२ मत
क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसले आफ्नो पकड कायम राखेको छ । यहाँ कांग्रेस उम्मेदवार फिरदोश आलमले ५,८४५ मतका साथ अग्रता लिएका छन् ।
दोस्रो स्थानमा नेकपा एमालेका किरण साह छन, जो आलमभन्दा ९९० मतले पछाडि छन् । रास्वपाका उम्मेदवार शेख सगिर ४,५९८ मतका साथ प्रतिस्पर्धामा छन् ।
क्षेत्र नम्बर ३ मा पनि रास्वपाकै लहर देखिएको छ । यहाँ रास्वपाका रविन्द्र पटेल ४,२९७ मतका साथ पहिलो स्थानमा छन् ।
जसपाका गोविन्द चौधरी ३,१४९ मतका साथ उनलाई पछ्याइरहेका छन् । आम जनता पार्टीका अध्यक्ष प्रभु साह भने १,६३८ मतका साथ तेस्रो स्थानमा छन्, जुन यस क्षेत्रका लागि अनपेक्षित परिणाम हो ।

रौतहट क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार गणेश पौडैलले निकै भारी मतको अन्तरले अग्रता लिइरहेका छन् ।
गणेश पौडैल (रास्वपा): १८,११३ मत, देवप्रसाद तिमल्सिना (कांग्रेस): ७,७११ मत, रामकुमार भट्टराई (नेकपा): ६,३०५ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा हालसम्म ३७,९१७ मत सदर भएको मुख्य निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिए ।
रौतहटको यो प्रारम्भिक नतिजाले स्थापित पुराना शक्ति र ठूला भनिएका नेताहरूलाई नयाँ शक्तिले कडा चुनौती दिएको स्पष्ट पारेको छ ।
विशेषगरी रास्वपाको पक्षमा देखिएको यो जनलहरले जिल्लाको आगामी राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्ने निश्चित छ ।

Nepal Telecome