विभिन्न चुनौती सहेरपनि होटल पौवा देशभर विस्तार हुँदैछ : उपाध्यक्ष न्यौपाने
काठमाडौं । देशभर संजाल विस्तार गरिरहेको होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले जेनजी आन्दोलनका कारण पर्यटन एवम होटल क्षेत्रमा गम्भीर असर पुर्याएको बताएका छन् । उनले आफ्ना देशभरका चेन होटलहरुमा करिब पाँच करोड रुपैंयाँको बुकिङ रद्द गर्नुपरेको पनि बताए ।
२०७२ सालको भुकम्पपछि होटल पौवा स्थापना भएको र त्यसपछि निरन्तर चुनौतीहरुको सामना गरिरहेको उनले सुनाए । ‘होटल पौवा सुरुगर्दा केही चुनौतीहरुको सामना गर्यौं । होटल सुरु गर्दा ०७२ सालको भूकम्प गएको बेला थियो । त्यसले एक प्रकारणको सन्नाटा छाएको थियो । जतासुकै एकदमै अप्ठ्यारो अवस्था थियो । सोही बेला हामीले होटल संचालन गर्ने भनेर कम्पनी स्थापना गरेका थियौं । भूकम्पको रापताप सेलाउन नपाउँदै कोभिडले प्रभावित गरायो । त्यसले विश्वभर आर्थिक सुस्तता ल्यायो । त्यसको असर एक दशकभर होटल पौवाले पनि व्यहोर्यो,’ उनले अगाडि भने,‘यही बीचमा हामीले अलिक चालाखीपूर्वक, अलि बढी मेहेनत गरेर पौवाको बृद्धि विकासको काम गरिरहेका थियौं । तर पछिल्लो समय जेनजी पुस्ताको आन्दोलनको चुनौती सामना गर्नुपरिरहेको छ । तरपनि हामी हिम्मत हारेका छैनौं, निरन्तर अगाडि बढेका छौं ।’
पछिल्लो समय विशेषगरी जनशक्तिको अभाव खेपिरहेको बताएका उनले जेनजी बद्रोह पछाडि नीजि क्षेत्रले निराशा व्यहोरिरहेको बताए । अन्तर्राष्ट्रिय बजारबाट आउने पाहुनाहरुमा नकारात्मक सन्देश गएकाले मुख्य पर्यटकीय सिजनमा पाँच करोड रुपैंयाँ भन्दा बढीको बुकिङ रद्द गर्नुपरेको उनले सुनाए ।
पछिल्लो समय होटल पौवाले आफ्नो चेन विस्तारलाई थप फैलाएको उनले जानकारी दिए । ‘हामी यतिबेला नेपालगंजमा फाइभ स्टार होटल संचालन गर्दैछौं र त्यसको निर्माण कार्य चलिरहेको छ । यस्तै पाल्पामा एउटा मेगा रिसोर्टको काम गरिरहेका छौं । झन्डै ३५ रोपनी जग्गामा काम भइरहेको छ । अब जनकपुरमा नयाँ चेन संचालनमा ल्याउने तयारीमा छौं, हेटौंडामा भर्खरै संचालनमा आएको छ । देशभर शाखाहरु विस्तारमा हामी छौ,’ उनले भने,‘अहिले हामी १० वर्ष पूरा गर्दै गर्दा १९ वटा शाखा विस्तार गरेर नेपालको सबभन्दा छिटो विकास भएको होटेल चेनमा परिणत भएका छौं ।’
उपाध्यक्ष न्यौपानेले अब चाँडै एउटा बृहत टिम बनाएर छिट्टै विश्व बजारमा नेपाली हस्पिटालिटी पहिचान दिनेगरि काम गर्ने तयारी गरिरहेको बताए । नेपालका होटलहरु मंहगो भएको भन्ने कुरा गलत भएको बताउँदै उनले अथिति सत्कारका लागि पर्याप्त तालिमको आवश्यक्ता रहेको उनले औंल्याए ।