काठमाडौं । सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले न्यूज अफ ग्लोबललाई जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर विजोर लागू हुनेछ ।
जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधान चलाउनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए । उनले भने, ‘कसैले भनसुन नगर्नु होला, सरकारको निर्णय कडाइका साथ ट्राफिक प्रहरीले लागू गराउँछ ।’

Nepal Telecome

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।

तर कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सुझाएका थिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए ।

सरकारले भोलिदेखि राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाएको छ ।