काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले विगतमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनमा कम्युनिष्टहरूको भूमिका पर्याप्त हुन नसकेको स्वीकार गरेका छन्।
सोबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको कार्य संयोजन समितिको बैठकपनि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अवस्था परिवर्तनमा कम्युनिष्टहरूको भूमिका पर्याप्त हुन नसकेको कारणले जनताबाट अपेक्षित जनमत प्राप्त हुन नसकेको उल्लेख गरे।
उनले भने,‘विगतमा लोकतन्त्रमा काम भयो । साच्चीकै व्यवस्था बद्लीयो तर अवस्था बदल्न अलि कम्युनिष्टहरुको भूमिका पुगेन भनेर अहिले जनताले जनमत नदिएको हो । यस अर्थमा हामी जनतासँगै रहेर, जनताको अवस्था बदल्ने ,स्वरोजगार बनाउने र विकास निर्माण लगायतका कामहरुमा रहनुपर्ने शिक्षा दिएको छ ।’
आवश्यकता अनुसार ऋण लिन सकिने तर फजुल खर्च गर्न नहुने स्पष्ट पार्दै उनले सकेसम्म ऋण घटाउँदै लैजानुपर्ने धारणा राखे। पूर्वाधार विकासका लागि भने ऋण लिन सकिने उनले बताए।
साथै, उनले सरकारले लिएको ऋणबारे संसदलाई जानकारी गराउनुपर्नेमा जोड दिँदै पारदर्शिता कायम गर्न आग्रह गरे।
‘अहिलेका साथिहरुले हामी ऋण लिदैनौं । विगतका ऋणले देशलाई ऋणमा डुबाए भनेर उहाँहरु राजनीतिमा आउनुभएको हो । आउँदा आउँदै एकैदिनमा २८ अर्ब ऋण लिनुभयो । यो जनताले प्रश्न गर्ने र उहाँहरुले उत्तर दिने कुरा हो । आवश्यकताको आधारमा ऋण लिनुपर्छ तर फजुल खर्च गर्नुहुँदैन् भन्ने हाम्रो कुरा हो । सकेसम्म ऋण घटाउँदै जानुपर्छ । पूर्वाधारका विषयमा ऋण लिनुपर्छ । तर ऋणको बारेमा उहाँहरुले सदनलाई पनि जानकारी गराउनुपर्छ ,’उनले भने ।