स्पेन । स्पेनको कोस्टाब्लाङ्कामा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आयोजित विशेष सांस्कृतिक तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
हिजो (२० तारिख) नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्का र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्का को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सयौं नेपाली तथा स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले नेपाली कला, संस्कृति, पहिचान र आपसी एकताको सशक्त सन्देश प्रवाह गरेको आयोजकहरूले जनाएका छन्।
कार्यक्रमका प्रमुख आकर्षणका रूपमा चर्चित गायिका Melina Rai (मेलिना राई) को विशेष सांगीतिक प्रस्तुति रहेको थियो। उहाँले “कुटुमा कुटु”, “रातो टीका निधारमा”, “टिकटकमा देखेको”, “आज हामी भेट भएको दिन”, “झल्को” लगायतका दर्जनौं लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्नुका साथै सम्पूर्ण वातावरणलाई संगीतमय र उत्साहपूर्ण बनाएकी थिइन्। दर्शकहरूको निरन्तर ताली, साथ र उत्साहले कार्यक्रमलाई अझ भव्य बनाएको थियो।
हाल युरोप भ्रमणमा रहेकी गायिका राईले स्पेनपछि Denmark र Croatia मा समेत आफ्नो सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको र त्यसपछि नेपाल फर्किने तालिका रहेको जानकारी प्राप्त भएको छ।
कार्यक्रमका शुभकामना मन्तव्यका क्रममा नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्का का अध्यक्ष केसर बहादुर थापाले मन्दिर तथा घुम्बा समितिको गठन भइसकेको जानकारी दिँदै उक्त कार्यलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विदेशमा रहेका नेपालीहरूको धार्मिक आस्था, संस्कृति र पहिचानलाई जगेर्ना गर्न यस्ता संरचनात्मक पहल महत्वपूर्ण हुने बताउनुभयो।
त्यसैगरी, एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्का का अध्यक्ष बिपिन कुमार बि.सी.ले नयाँ वर्ष सबैको जीवनमा सुख, शान्ति, समृद्धि तथा आपसी भाइचाराको एकता ल्याओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए स्पेनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र भुजेल थापाले नेपालीहरूको नयाँ वर्षले सबैको जीवनमा नयाँ उमंग, उत्साह र सकारात्मक ऊर्जा ल्याओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूमा रितेश श्रेष्ठ संरक्षक, नेपाल समाज एसोसिएसन), अक्कल बोहोरा (सगरमाथा आरोही एवं संरक्षक), केशवराज कडेल, बिनोद शेरचन, देवराज सापकोटा (उपाध्यक्ष, एनआरएनए स्पेन तथा संरक्षक), नवराज दुवाडी (सचिव, एनआरएनए स्पेन तथा संरक्षक), सुरेश बज्राचार्य (पूर्व अध्यक्ष, एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्का तथा संरक्षक) लगायत रहनुभएको थियो।
त्यसैगरी स्मृति गौतम, मुकुन्द लामिछाने, राजन थापा, बिरेन्द्र श्रेष्ठ, रुद्र खत्री, द्वारिका लामिछाने, दुर्गा भण्डारी, विजय थापा, ईश्वर गौतम, राजु पाण्डे, सिर्जना लामिछाने (पूर्व उपाध्यक्ष, एनआरएनए स्पेन), रुद्र आचार्य, अन्जु पुन, डा. बृहस्पति पण्डित, जग बहादुर पुन, महत्त्व कडेल, किरण पौडेल तथा अजगर हुसेन (सल्लाहकार, नेपाल समाज एसोसिएसन, कोस्टाब्लाङ्का) लगायतका व्यक्तित्वहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, कलाकार, पत्रकार, मिडियाकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रमको सञ्चालन नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्का का का.वा. महासचिव अशिम लोप्चन र उपाध्यक्ष मोतिसागर पुनले संयुक्त रूपमा गर्नुभएको थियो।
आयोजक संस्थाले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरू प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
