काठमाडौं । सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका खुर्कोटस्थित प्रहरी चौकीभित्र कृष्ण विश्वकर्माको रहस्यमय मृत्यु भएको घटनालाई लिएर आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।
संयुक्त राजनीतिक दलीय संघर्ष समितिको आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्यायको माग गरेका छन्।
संघर्ष समिति संयोजक दलजित श्रीपालीले प्रहरी चौकीजस्तो राज्यको सबैभन्दा सुरक्षित मानिने स्थानमै एक व्यक्तिको मृत्यु हुनु गम्भीर र शंकास्पद विषय भएको बताए । उनले प्रहरीको प्रारम्भिक दाबीप्रति असन्तुष्टि जनाउँदै घटनालाई सामान्य रुपमा लिन नसकिने स्पष्ट पारे ।
उनका अनुसार विश्वकर्माको मृत्यु आत्महत्या नभई योजनाबद्ध हत्या भएको आशंका बलियो बन्दै गएको छ ।
‘प्रहरीले झुण्डिएर मृत्यु भएको भनिरहेको छ, तर घटनास्थलको भौतिक अवस्था, शौचालयको उचाइ, कपडाको स्थिति, टी–सर्ट च्यातिएको अवस्था, र त्यहाँ पुगेका जनप्रतिनिधि, पत्रकार तथा मानवअधिकारकर्मीहरूको अवलोकनले यो मृत्यु स्वाभाविक होइन भन्ने देखाउँछ,’ उनले भने।
श्रीपालीले विभिन्न निकायबाट संकलित प्रमाण, प्रत्यक्षदर्शीको भनाइ तथा परिवारसँगको कुराकानीका आधारमा घटनामा गम्भीर अनियमितता देखिएको दाबी गरे।
‘प्रहरी चौकीभित्रै मृत्यु भएको कारणले पनि यो घटना अझ गम्भीर बन्न पुगेको छ। त्यही संस्थाका मानिसहरूबाट मात्रै छानबिन गरिनु भनेको सत्य लुकाउने प्रयास हुन सक्छ,’ उनले आरोप लगाए।
प्रदर्शनकारीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका छन्। साथै, संसदीय समिति गठन गरी घटनाको गहिरो अध्ययन गर्नुपर्ने उनीहरूको माग छ। उनीहरूले अहिले गठन गरिएको छानबिन समितिमाथि नै अविश्वास व्यक्त गर्दै त्यसबाट निष्पक्ष प्रतिवेदन आउनेमा शंका व्यक्त गरेका छन्।
पोस्टमार्टम प्रक्रिया पनि विवादमा परेको छ । परिवारका सदस्यहरूको संलग्नतामा विज्ञ डाक्टरहरूको बोर्ड गठन गरी पोस्टमार्टम गर्नुपर्ने माग गरिएपनि प्रक्रिया पारदर्शी नभएको गुनासो प्रदर्शनकारीहरूको छ। पोस्टमार्टम भइसकेको भनिए पनि अहिलेसम्म रिपोर्ट सार्वजनिक नभएकोले आशंका झन् बढ्दै गएको उनीहरूको भनाइ छ।
‘पोस्टमार्टम रिपोर्ट सार्वजनिक नहुनु आफैंमा शंकाको विषय हो। यसले पीडित परिवारमा थप मानसिक र भावनात्मक पीडा थपेको छ,’ श्रीपालीले बताए।
प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटको माग पनि गरेका छन् । उनीहरूले प्रधानमन्त्री स्वयं गृहमन्त्रीको जिम्मेवारीमा रहेको अवस्थामा यस्तो गम्भीर घटनामा चासो नदेखाउनु दुःखद भएको बताएका छन् ।
‘प्रहरी चौकीभित्र भएको मृत्युमा सरकार मौन बस्न मिल्दैन। प्रधानमन्त्रीले पीडित परिवारलाई भेटेर उनीहरूको पीडा सुन्नुपर्छ र न्याय सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्छ,’ उनले भने ।
प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
