काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले यस वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ। संघले वरिष्ठ पत्रकार अनन्त वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३ प्रदान गर्ने भएको छ । त्यस्तै यस वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३ बाट जयन सुब्बा मानन्धर र कुवेर गिरीलाई सम्मानित गरिने संघले जनाएको छ ।

संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा शुक्रबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा बसेको कार्यसमिति बैठकले जेठ ७ गते आयोजना हुने २७ औं वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको हो।

Nepal Telecome

घोषणा अनुसार, राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान स्वर्गीय दिनेश सिटौलालाई प्रदान गरिने निर्णय गरेको छ । संघका महासचिव गोपीकृष्ण चापागाईंद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३ सुरक्षा भट्टराईलाई प्रदान गरिने संघले जनाएको छ।

यसैगरी, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३ वैकुण्ठ राज पराजुलीलाई प्रदान गरिनेछ भने राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार मिलन ढुंगानालाई प्रदान गरिने निर्णय गरिएको छ।

संघले आफ्नो स्थापना दिवस जेठ ७ गतेको अवसर पारेर प्रत्येक वर्ष चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ।