काठमाडौँ । चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् । मंगलबार सम्पन्न १८ औं साधारणसभाबाट तथा निर्वाचनको अन्तिम परिणाम अनुसार प्रधानले आफ्ना प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई भारी मतले पछि पारे । कुल १५९ मत खसेको निर्वाचनमा प्रधानले १०९ मत प्राप्त गरे भने पराजुलीले ४६ मत मात्र पाए । दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली निर्वाचित भएका छन् । गजुरेलले ९५ मत र वलीले ७१ मत प्राप्त गरे ।
महासचिव पदमा समुन्द्र भट्ट १०६ मतसहित विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी कमल एक्चै मगरले ४७ मत प्राप्त गरे । त्यसैगरी, सचिव पदमा राजबहादुर साने ८० मतका साथ निर्वाचित भएका छन् । सचिवका अन्य उम्मेदवारहरू अमर ओलीले ४६ र दिनेश लिङ्देनले २८ मत प्राप्त गरे ।
कोषाध्यक्ष पदमा जनक खड्काको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए भने सहकोषाध्यक्षमा उत्सव केसी निर्वाचित भएका थिए ।
त्यस्तै समाजको सदस्य पदका लागि ६ जनाको मात्र उम्मेदवारी परेपछि सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका थिए । निर्वाचित सदस्यहरुमा लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमर दीप सापकोटा, शिव शर्मा कँडेल, हस्तबहादुर लिम्बू निर्वाचित भएका छन् ।



