" />
काठमाडौं । नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्नका लागि ७२ करोड रुपैयाँको परियोजनामा हस्ताक्षर गरिसकेकोछ । सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजनामा ३ वटै सरकारसँग गरेर ७२ करोडको परियोजनामा हस्ताक्षर गरेको हो ।
सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि संघीय सरकार, प्रदेश २ सरकार र लालबन्दी नगरपालिकासँग प्रतिष्ठानले ७२ करोड रुपैयाँको परियोजनामा हस्ताक्षर गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताएका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका–१ मा संस्थाले साढे ८ विघा जग्गा खरीद गरेर त्यहाँ विषालु सर्प पाल्ने तयारी अगाडि बढाएको हो । सर्प पाल्नका लागि सो जग्गा प्रतिकठ्ठा साढे ३ लाख रुपैयाँका दरले टेण्डरमार्फत खरिद गरिएको पन्तले बताए । प्रतिष्ठानले किनेको यो जग्गामा तीनै तहका सरकारको लगानी छ ।
अबको दुई वर्षभित्र भवन लगायतका सबै संरचनाहरु बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने अध्यक्ष पन्तले बताए । सुरुमा उत्पादित विष भारतको ल्याबमा पठाएर ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाइने उनले योजना सुनाए ।
विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा हरेक वर्ष मानिसहरुको ज्यान जाने गरेको छ । सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ ।
अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग निर्भर हुनु परिरहेको छ ।
यद्यपि स्वास्थ्य मन्त्रालयले लाखौं रुपैयाँ खर्च गरेर गरेको एक अध्ययनमा नेपालमा ‘एन्टी स्नेक भेनम’ बनाउन नसकिने निश्कर्ष निकालेको पनि नेकपा सर्लाहीका नेता समेत रहेका अध्यक्ष पन्तले सुनाए ।