ठमाडौं । देव डी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको तथा दिपेन्द्र केसीद्वारा निर्देशित एवं निर्मित वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्देशकले सार्वजनिक गरेको पोस्टरले वृत्तचित्रको गम्भीर विषयवस्तु र यसले प्राप्त गरेका अन्तर्राष्ट्रिय सफलताहरूलाई एकैसाथ उजागर गरेको छ ।

श्यामश्वेत थिममा रोयल भीमसनेले तयार पारेको यस पोस्टरमा विकट ग्रामीण परिवेशमा रहेका सन्चलाल र एक बालकको दृश्य समावेश गरिएको छ । यस वृत्तचित्रले मकवानपुरको मनोहरीको जङ्गलको बीचमा रहेको एक विकट चेपाङ गाउँमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति ’सन्चलाल’को कथालाई पर्दामा उतारेको छ ।

गरिबी, एक्लोपन र अनेकौँ अभावका बाबजुद पनि जीवनप्रतिको आशालाई जीवितै राख्न उनले गरेको सङ्घर्ष र उनको मौन साहसलाई यसले सुक्ष्म रूपमा प्रस्तुत गरेको छ । निर्देशक दिपेन्द्र केसीले सन्चलालको मार्मिक अवस्था र सीमान्तकृत समुदायको यथार्थलाई अत्यन्तै संवेदनशीलताका साथ यस वृत्तचित्रमा देखाउने प्रयास गरेका छन् ।

Nepal Telecome

यस वृत्तचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरिसकेको छ । अष्ट्रेलियामा आयोजना भएको ‘टाइटान इन्टरनेसनल फिल्म फेस्टिभल’मा सन् २०२५ को चौथो सिजन तथा वर्षकै उत्कृष्ट वृत्तचित्रको विजेता बनी २ अवार्ड प्राप्त गरेको तथा ’बलिउड एन्ड हलिउड फिल्म फेस्टिभल अष्ट्रेलिया २०२६’का लागि आधिकारिक रूपमा छनोट भएको छ ।

वृत्तचित्रको लेखन निर्देशक दिपेन्द्र केसी र ईश्वर लुइँटेलले संयुक्त रूपमा गरेका हुन् भने छायांकन अर्जुन सापकोटा र हिमाल शर्माले गरेका छन् ।