काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र **‘बेहुली’**को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित विशेष पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको लोक फ्लेभरको गीतमा पारस बम ठकुरी र दिव्या रायमाझीको जोडी आकर्षक रूपमा प्रस्तुत गरिएको छ।
गीतमा चलचित्रका निर्माता समेत रहेका अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडले स्वर दिएका छन्। भिडियोमा पारस र दिव्यासँगै सुशान्त कार्की र पदम तामाङको पनि दमदार उपस्थिती रहेको छ। भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन्।
गीत सार्वजनिक कार्यक्रममा संगीतकार तथा निर्माता अर्जुन पोखरेलले चलचित्रको प्रचारप्रसारलाई लक्षित गर्दै दर्शकलाई फरक स्वाद दिने उद्देश्यले यो गीत तयार गरिएको बताए।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको चलचित्रमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको चलचित्रमा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता, दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर रहेका छन्।



