दैलेख । दैलेखको पश्चिम आठबिस नगरपालिकाले कर्णाली नदीमा साना माछा मार्न रोक लगाएको छ । नगरपालिकाले इलाका प्रहरी कार्यालय र राकम कर्णाली जलचर संरक्षण समूहसँगको समन्वयमा माछा मार्न रोक लगाएको हो ।

नगरपालिकाकाले यही चैत १ मा सूचना जारी गर्दै साना तथा भुरा माछा मार्न रोक लगाएको जनाएको छ । जारी सूचनामा भनिएको छ, “नदीमा साना माछा मार्दा माछा नै लोप हुने देखिएकाले साना माछा नमार्नु होला ।” नगरपालिकाको जलचर संरक्षण ऐन २०७५ साना माछा मार्न रोक लगाएको नगर उपप्रमुख दीपा बोहराले बताए । माछा व्यवसायी वा अन्य कसैले साना माछा मारेमा जरिवानासँगै माछा मार्ने सबै सामग्री जफत गरिने बताइएको छ ।

Nepal Telecome

नगरपालिका क्षेत्रमा पर्ने दही खोलादेखि रामाघाटसम्मको कर्णाली नदीमा साना माछा मार्न रोक लगाइएको हो । ठूलो प्वाल भएको जाल तथा साना माछा मार्न प्रयोग हुने सामग्री खरिद बिक्रीसमेत नगर्न आग्रह गरिएको छ । साना माछा मारेको पाइएमा पहिलोपटक रु पाँच हजार भने दोस्रो पटक रु १० हजार र तेस्रोपटक रु १५ हजार जरिवाना गरिने उपप्रमुख बोहराले जानकारी दिए ।