काठमाडौं । क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी) को आयोजनामा राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ आयोजना हुने भएको छ। प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजकले जनाएको छ।

आयोजक प्रमुख सुचिता सचीका अनुसार प्रतियोगितामा फेसन, सौन्दर्यसँगै व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा र सामाजिक चेतनालाई प्राथमिकतामा राखिनेछ। प्रतियोगिताले नेपाली युवतीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।

Nepal Telecome

प्रतियोगितामा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीले सहभागिता जनाउन सक्नेछन्। सहभागीका लागि न्यूनतम १५५ सेन्टिमिटर (५ फिट १ इन्च) उचाइ तोकिएको छ। आवेदन शुल्क एक हजार रुपैयाँ रहेको छ।

आवेदन संकलनपछि असोज १० गते अडिसन आयोजना गरिनेछ। अडिसनबाट छनोट हुने २५ जना प्रतिस्पर्धीलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ। प्रतियोगिताको ग्राण्ड फिनाले मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ।

एउटै मञ्चबाट तीन अन्तर्राष्ट्रिय उपाधिका लागि प्रतिनिधि छनोट

आयोजकका अनुसार यस वर्षको प्रतियोगिताबाट विभिन्न उमेर समूहलाई समेट्दै ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ र ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’ का लागि योग्य प्रतिनिधि छनोट गर्ने तयारी गरिएको छ।

अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त डाइरेक्टरसिप लेटरमा उल्लेखित आधिकारिक टाइटल तथा प्रावधानलाई आधार बनाएर प्रतियोगिताको संरचना अन्तिम रूप दिइने आयोजकले जनाएको छ।

यस प्रतियोगिताको विजेताले भारतमा सन् २०२६ को अन्त्यतिर आयोजना हुने ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ मा नेपालको आधिकारिक प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।

सिआईएफटी प्रमुख सुचिता सचीका अनुसार प्रतियोगितामा बाह्य सौन्दर्य मात्र नभई व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली तथा सामाजिक चेतनालाई समेत मूल्यांकन गरिनेछ।

फेसन तथा सौन्दर्य क्षेत्रमा रुचि राख्ने युवतीलाई व्यावसायिक अवसर र अन्तर्राष्ट्रिय पहिचानका लागि प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागिताका लागि आयोजक प्रतिनिधि माधुरी कर्णसँग सम्पर्क गर्न सकिनेछ। आवेदन फाराम अनलाइनमार्फत भर्न सकिने आयोजकले जनाएको छ।