काठमाडौं । ख्यातिप्राप्त गायिका तथा संगीतकार मिरा राणा आगामी आइतबार आफ्नो जीवनकै अन्तिम एकल सांगीतिक साँझमा प्रस्तुत हुने भएकी छन्। असोज ४ गते आइतबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘मिरा राणा एकल सांगीतिक साँझ’ आयोजना हुन लागेको हो।
७५ वर्षीया मिरा राणा क्यान्सरसँगको संघर्षपछि त्यसलाई जित्न सफल भएकी गायिका हुन्। उनले क्यान्सरकै कारण आफ्ना पति उदयजंग राणालाई गुमाएकी थिइन्। क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले उनले मिरा राणा क्यान्सर समाज समेत स्थापना गरेकी छन्।
सोही संस्थाको कोष वृद्धि गरी क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले आफ्नो जीवनकै अन्तिम कार्यक्रमका रूपमा एकल सांगीतिक साँझ आयोजना गर्न लागेको राणाले बताएकी छन्।
कार्यक्रममा मिराले गाएका तथा संगीत दिएका करिब दुई दर्जन लोकप्रिय गीत विभिन्न गायक–गायिकाले आ–आफ्नै शैलीमा प्रस्तुत गर्नेछन्। कार्यक्रममा शम्भुजीत बासकोटा, रामभक्त जोजिजु, कपिल लोहनी, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया, तारा थापा, संगीता थापा शाक्य, निशा देशार, रुपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शितल थापा र युनिशा देशारलगायतको प्रस्तुति रहनेछ। मिरा राणाले पनि आफ्ना केही गीत प्रस्तुत गर्नेछिन्। कार्यक्रमको म्युजिक कन्डक्टर मनोहर सुनाम रहेका छन्।
एकल साँझमा मिराले स्वरसम्राट नारायणगोपालसँग गाएका ‘तिमी देऊ या नदेऊ’, ‘मेरो जोवन लैजाऊ’, ‘आँखैमा कसैको तस्वीर बसेछ’ र ‘बैनीको दया छ भने’ लगायतका गीत प्रस्तुत गरिनेछ।
त्यस्तै, शम्भुजीत बासकोटासँगको ‘नाच्देऊ मैच्याङ’, ‘सिन्धुपाल्चोक जिल्लामा’, कुमार बस्नेतसँगको ‘मादल घनघन घन्काऊँ कि’, ‘लेक फुल्यो लालीगुराँस’ लगायतका गीत पनि कार्यक्रममा प्रस्तुत हुनेछन्।
मिरा राणाका लोकप्रिय एकल गीतहरू ‘मखमली चोलो चाहिँदैन’, ‘मात चढेको साँझ’, ‘नशालु रात’, ‘मेरो पाउमा आज’, ‘साम्द सदा शिव’, ‘बिर्सिएर मैले फेरि’, ‘आजसम्म जसरी बाँचेर आएँ’ र ‘मेरो फूललाई वसन्त भयो’ लगायतका गीतसमेत कार्यक्रममा गुञ्जिनेछन्।
क्यान्सरसँगको व्यक्तिगत संघर्ष र संगीत यात्रालाई एउटै मञ्चमा जोड्दै आयोजना हुन लागेको यो सांगीतिक साँझबाट संकलित रकम क्यान्सरपीडितको सहयोगमा उपयोग गरिने आयोजकले जनाएको छ।



