काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ । सेनाले हवाई तथा जमिन दुवै मार्गबाट उद्धार कार्य जारी राखेको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हवाई साधनमार्फत हालसम्म ४ हजार १८७ जनाको उद्धार गरिएको छ, जसमा ३ हजार ९०८ जना स्वदेशी र २८३ जना विदेशी नागरिक रहेका छन् ।
बाढीबाट क्षति पुगेका जलविद्युत आयोजनाका सुरुङ (टनेल) हरूमा उद्धार टोलीले विशेष खोजी अभियान चलाइरहेको छ । माथिल्लो त्रिशूली–१ को टनेलभित्र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा फेला परेका शव तथा मानव अङ्गहरू निकाल्ने कार्य गरिरहेको छ । यस्तै, त्रिशूली–थ्री ‘ए’ (३ब्) को टनेल र पावरहाउस क्षेत्रमा खोजी भइरहेको छ भने त्रिशूली–थ्री ‘बी’ को पावरहाउस क्षेत्रमा तीनवटा एक्स्काभेटर र लोडर प्रयोग गरी उत्खनन गर्दा हालसम्म केही फेला नपरे पनि खोजी कार्य जारी राखिएको छ ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन् । फौजले घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी र अवरुद्ध सडक तथा पुल सुचारु गर्ने कार्य गरिरहेको छ ।
रसुवा र नुवाकोटका त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेत लगायतका स्थानहरूमा अस्थायी बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको छ । स्याफ्रुबेँसी क्षेत्रमा तीनवटा समूह परिचालित छन् । सडक सम्पर्क विच्छेद भएका दुर्गम स्थान तथा साँघुरा टनेलहरूमा ड्रोन प्रविधिको प्रयोग गरी रेकी गर्ने र राहत सामग्री ढुवानी गर्ने कार्य भइरहेको सेनाले जनाएको छ । साथै, पीडित परिवारलाई धार्मिक संस्कार, श्रद्धाञ्जली तथा भावनात्मक सहयोग र आयोजनाका उपकरण ढुवानीमा समेत सेनाले सहजीकरण गरिरहेको छ ।
सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत आज थप २८ जनाको उपचार गरिएको छ । योसँगै हालसम्म उपचार सेवा लिनेको सङ्ख्या ३ हजार ९६६ पुगेको छ ।
यसैबीच, बाढीका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित शीतल बजारको सडक खुलाउने प्रयास जारी छ । यस्तै, बेत्रावती नदीमा अस्थायी पुल निर्माणका लागि नेपाली सेनासहितका सुरक्षा निकायहरू तीव्र रूपमा जुटिरहेका छन् ।



