काठमाडौं । राप्रपा सांसद राजेन्द्र लिङ्देनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ। निमोनियाका कारण गम्भीर बिरामी परेका लिङ्देनलाई सेनाको हेलिकप्टरले झापाबाट त्रिभुवन विमानस्थल ल्याएको हो। विमानस्थलबाट सिधै लिङ्देनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको राप्रपा केन्द्रीय सदस्य एवम् प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

Nepal Telecome

लिङ्देनको दुबै फोक्सोमा निमोनिया संक्रमण रहेको झापा विर्तामोडस्थित बिएन्डसी अस्पतालले जनाएको छ। झापा क्षेत्र नम्बर ३ का सांसद लिङ्देन बिहीबार श्वासप्रश्वासमा समस्या आएपछि बिएन्डसी अस्पताल भर्ना भएका थिए। बिएन्डसी अस्पतालका जनसम्पर्क प्रमुख प्रमिश गिरीका अनुसार लिङ्देनलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो।

लिङ्देनलाई कोरोना संक्रमणको आशंका छ। उनको स्वाब संकलन गरी पठाइसकिएको भए पनि रिपोर्ट आइसकेको छैन।