" />
प्रिय मित्र,
अहङ्कारको सिरानी च्यापेर निदाइरहेका
तिम्रो आँखा,
भ्रमको उत्कर्षबाट शून्यमा झ्याम्म
झरेको हाम्रो अस्तित्व
ए ! बचाइद्याओ न भनेर
चिच्याउनेहरुको आवाज
बत्ती निभेझैं निभ्छ
धकेलिन्छ अँध्यारोतिर
बस्नुपर्छ बन्धकीमा उज्यालो पर्खेर
तर पनि तिम्रो काल्पनिक कथामा
धुलाम्य आँखाले मलाई कहिल्यै देखेन
सम्भावनाको आकृति कोर्न सिपालु
ललिते बचनमा पञ्चामृत घोलेर
गुलियो बनाउन सिपालु
मित्र,
मलाई याद छ
तिम्ले भनेका थियौ
मेरो गाउँको भक्ते बा’को घरमा पुगेर
बा ! अब पाँच वर्षमा समृद्धि
तपाईंको आँगनमा आउनेछ (पालो मेरै हो)
बा ! तपाईंले तिहारमा लक्ष्मी हुलेजस्तै
अब समृद्धि हुल्न तयार बन्नुहोस्
प्रिय मित्र
कालन्तरमा तिमी गफ लगाउन पनि सिपालु रहेछौ
विश्वासको आडमा भुलाउन
मिठासपूर्ण भरोसाले अल्मल्याउन
माहिर तिमी
बृद्धबृद्धा, बेसहारा र गरिबहरुको
छातीमाथि बयली खेल्दै गरेको तिम्ले
विश्वासका हरिया पातहरु चुडाली दियौ
सम्बन्धहरुलाई आत्महत्या गर्न विवश तुलाउने तिम्ले
तिम्रै अहम्ताको पर्खाल नाघेर
बसाई सार्न विवश तुल्यायौ
प्रिय मित्र केवल
गरिरह्यौ त आफ्नै रोमाञ्चक गफहरुको
उकाली ओराली !
जिम्मेवारीको भावकीय तन्तुले
कहिल्यै झङ्कृत पारेन
अहङ्कार फुकालेर सभ्यताको आँखामा
पट्टि बाँध्न सिपालु तिम्ले
पटपटि फुट्दै भासिँदै गरेको
दशगजासम्म आँखा तन्काउन सकेनौ
सगरमाथाले खसालेका दुई थोपा आँसुले
तिम्रो मन कहिल्यै अमिलो बनाएन
तिम्लाई कुनै प्रवाह पारेन
प्रिय मित्र
स्वार्थको उच्छलनमा बग्दै
आनन्द मानिरहने तिम्ले
उज्यालो र आनन्दको सारा सहुलियत आफैंसँग राख्यौ
दियौ त केवल
मन लागी अँध्यारो दियौ
सारा जनहरुको कण्ठ कण्ठमा
तिम्रै बेसुरेपनको गुनासो छचल्किरहेको छ
इतिहासले त तिम्लाई धिक्कार्ने मात्र हुन्
तर, प्रिय मित्र
वर्तमानले थुप्रै अवसानसँगै
राष्ट्रका अन्तर कुन्तरबाट निस्केर
तिम्रो अराजक प्रवृत्तिलाई घेर्ने छन्
तिम्रो स्वघोषित दम्भको शक्तिशाली
बस्तीमा चौतर्फी निषेध लगाउनेछन्
अनि मात्र परास्त हुनेछ
तिम्रो रोगग्रस्त अहम्ता
बेरङ्गे बनेर बिलाउनेछ
प्रिय मित्र
तिम्रै आँखाका डिलबाट रित्तिने गरि ।
– गोरखा