काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार देखि आइतबार सम्म बसेको बैठकले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको हो ।
बठैकले सभापति गगन थापाले निर्वाह गर्नु पर्ने भूमिकाको आवश्यकता टड्कारो देखिएको र विशेष महाधिवेशनले सुम्पेको दायित्व पूर्ण नभैसकेको वर्तमान अवस्थामा समयमै पार्टीको महाधिवेशन सम्पन्न गर्नु पर्ने भएकोले थापालाई पूर्ववत जिम्मेवारीमा फर्किन आग्रह गर्दै बैठकले सर्वसम्मतिबाट राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ ।
बठैकले हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा इरानी सेनाको नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झालाई मुक्त गरी सकुशल नेपाल ल्याउन नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
साथै, बैठकले मध्यपूर्वमा चर्किएको युद्धप्रति चिन्ता व्यक्त गर्दै विश्वशान्तिको आवश्यकता औंल्याएको छ । युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ । साथै हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा नियन्त्रणमा लिएका नेपाली नागरिक अमृत झालाई सुरक्षित स्वदेश फर्काउन माग पनि बैठकले गरेको छ ।
बैठकले यी सबै कारणहरू व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य रहेको निष्कर्ष निकालेको छ । विशेष महाधिवेशनपछि गठन भएको नयाँ नेतृत्वलाई करिब ५० दिनको सीमित अवधिमा सबै चुनौती समाधान गर्न कठिन भएको उल्लेख गरिएको छ ।
यस्तै, बैठकले निर्वाचन परिणामबारे जिल्ला र निर्वाचन क्षेत्रबाट पनि थप प्रतिवेदन पठाउन निर्देशन दिँदै प्रारम्भिक समीक्षा र जिल्ला तहबाट प्राप्त प्रतिवेदनलाई एकीकृत गरी पुनः समिक्षा गर्ने निर्णय गरेको छ । बैठकले अब पार्टी पूर्ण रूपमा १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने निर्णय पनि गरेको छ ।