काभ्रे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षचन्द्र प्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बनेको बताउनु भएको छ ।
शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४१ औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याजदर एकल अङ्कमा आएको र कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हँुदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताउनु भएको छ ।
बैंक तथा व्यवसायीहरु बीचको सम्बन्ध सुमधुर रहनु पर्ने बताउँदै ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले अब बैंकलाई गाली गरेर बस्ने अवस्था नरहेको बताउनु भयो ।

अहिले बैंकको व्याजदर र आधारदर सिङ्गल डिजिटमा झरेको छ । स्प्रेडदर पनि केन्द्रीय बैंकले तोकेको दरभन्दा पनि तल झरिसकेको छ । अब तपाई हामीले बैंकलाई गाली गरेर बस्ने होइन व्यावसायिक गतिविधिहरुलाई बढाउनु पर्ने बेला आएको छ,” उहाँले भन्नु भयो ।

मुलुकभित्र लगानी मैत्री वातावरण थप सुधार गर्दै जानको लागि अहिलेको कर तथा भ्याटको दरमा पनि विस्तारै परिमार्जन गर्दै जानुपर्ने बताउँदै उहाँले यसका लागि महासंघले निजी क्षेत्रको तर्फबाट सरकार तथा सम्बन्धित निकाय समक्ष आवाज उठाउने कुरा बताउनुभयो ।

Nepal Telecome

उहाँले निर्वाचन पछि सबै समूह एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
‘निर्वाचनको समयमा पक्ष तथा विपक्ष भएर निर्वाचनको मैदानमा उत्रिए पनि निर्वाचन सकिएकै दिनदेखि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने हुन्छ,! उहाँलेभन्नुभयो ।
उहाँले अहिलेको महासंघको नेतृत्वले मुलुकमा व्यावसायिक वातावरण बनाउन सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर वार्ता, संवाद तथा सहकार्य जारी राख्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले आज सुरु भएको यस काभ्रे उद्योग वाणिज्य संघको ४१ औँ वार्षिक साधारणसभाले एउटा जुझारु र सक्षम नेतृत्व चयन गर्ने बताउनुभयो ।
जिल्ला नगरका साना व्यवसायीहरुका समस्या समाधानमा जिल्ला नगरका नेतृत्वमा रहेका व्यवसायी साथीहरु आफैमा पनि सक्षम रहेको बताउँदै उहाँले जिल्ला÷नगरका उद्योगी, व्यवसायीहरुका समस्या समाधानका लागि जिल्ला नगरका व्यवसायीहरुसँग होस्टेमा हैँसे गर्न महासंघको नयाँ नेतृत्व सधैं तत्पर रहेको बताउनुभयो ।