" />
काठमाण्डौ । दुई दिनसम्म राजधानीमा बसेको पदाधिकारी बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक सममति जुटाएको छ । तर, बाबुराम भट्टराई र महन्थ ठाकुरमध्ये कसलाई प्रधानमन्त्रीमा अघि सार्ने भन्नेचाहिँ जसपाले टुंग्याएको छैन ।दुई दिनसम्म चलेको बैठकमा विशेष रुपमा सत्ता समीकरणको विषयमा व्यापक छलफल भएको थियो । जसपामा देखिएको दुई पक्ष, अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई एवं अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको आ–आफ्नो अडान बैठकमा पनि कायमै रह्यो । तर, एउटा कुरामा सहमति भयो, त्यो हो जसपाकै नेतृत्वमा सरकार बनाउने ।ओलीलाई जति दिनसम्म टिकाइ राख्ने हो, लोकतन्त्रमाथि त्यति नै खतरा हुने उपेन्द्र यादव पक्षको दाबी थियो भने महन्थ ठाकुरले लोकतन्त्रमाथि ओलीबाट मात्र होइन, अन्य दलका नेताबाट पनि खतरा रहेको दाबी थियो । यिनै तर्क–वितर्कमा जसपा नेपालको पदाधिकारी बैठक जारी छ ।
आफ्नै नेतृत्वमा सरकार बनाउने गरी दुवै पक्ष सहमतिको विन्दुमा आएका छन् । जसपाको नेतृत्वमा सरकार गठन गर्नका लागि सहयोग गर्न दलहरुलाई आह्वान गर्ने बैठकले निर्णय गरेको एक नेताले जानकारी दिए । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार नेपाली काँग्रेसले ओली विरुद्ध आविश्वासको प्रस्ताव ल्याउन नसकेको हुँदा त्यसको अगुवाई जसपाले गर्ने र त्यसका लागि अन्य दलसँग सहयोग माग्ने उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षको प्रस्ताव थियो ।, महन्थ ठाकुरले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन जसपा सक्दैन, कुनै दलले त्यसमा साथ दिँदैन, बरु जसपाकै नेतृत्वमा सरकार गठन गर्ने आह्वान गर्दा ओली नेतृत्वको एमालेले पनि सहयोग गर्न सक्छ भन्ने तर्क बैठकमा गरेका थिए । यसमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र शेरबहादुर देउवा नेतृत्वको काँग्रेसले पनि सहयोग गर्न सक्छ भन्ने ठाकुरले बैठकमा बताए ।