काठमाण्डौ । आगामी चैत ९ देखि २१ गतेसम्म सेयर बजारमा पूर्ण लकडाउन हुने भएको छ । शुक्रबार देशबासीको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै भनेका छन्-‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

राजपत्रको भाग ५ मा आवश्यक सेवाबारे उल्लेख गरी यिनमा हड्ताल गर्न रोक लगाइएको छ।

राजपत्रका अनुसार हुलाक, डाँक, अस्पताल, हातहतियार र आन्तरिक सुरक्षा, खानेपानी, विद्युत, औषधि निर्माण तथा वितरण, फोहोर मैला संकलन, दाल चामल-नुन तेलजस्ता दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी तथा पैठारी, पेट्रोलियम भण्डारण लगायतका सेवा आवश्यक सेवा हुन्।

Nepal Telecome

यस्तै, बैंकिंग, बिमा, संचार, विद्युत सेवा, अस्पताल, औषधि निर्माण लगायतका सेवा समेत अत्यावश्यक सेवामा पर्दछन् ।

यसको अर्थ हो, अत्यावश्यक बाहेकका क्षेत्रमा यो १३ दिन पूर्ण लकडाउन हुनेछ ।

यो अवधिमा सेयरको दोश्रो बजार कारोबार समेत ठप्प हुनेछ । किनभने सेयर बजारको कारोबार अत्यावश्यक सेवामा पर्दैन ।

सरकारले ९ गतेदेखि नै यस्तो व्यवस्था गरेका कारण अब सेयर बजार समेत आइतबारदेखि खुल्ने छैन । यसअघि धितोपत्र बोर्डले सेयर बजार आइतबार बन्द नहुने बताएको थियो ।

यो अवधिमा बैंक, बिमा, संचार, विद्युत लगायतका सेवा भने सुचारु हुनेछन् ।

नियमित निक्षेप कारोबार बाहेक बैंकका अन्य सेवा भने रोक्ने पहल भइरहेको केन्द्रीय बैंकस्थित उच्च स्रोतले जनाएको छ । बैंकहरुले आंशिक रुपमा तोकिएका शाखा मात्र खोल्न सक्नेछन् ।

निक्षेप लिने कार्य सुचारु गर्दा नोटबाट समेत कोरोना संक्रमण हुनसक्ने डर रहेकाले यसलाई कसरी मिलाउने भन्ने विषयमा बैंकरहरु नै अन्यौलमा देखिएका छन् ।