" /> माल्टामा नेपालीहरु अलपत्र, एनआरएनद्वारा गल्ती स्वीकार – News of Global

न्यूज अफ ग्लोबल आइतबार, बैशाख २१, २०७७

बार्सिलोना । युरोप र उत्तर अफ्रिकाको बीचको सानो युरोपेली मुलुक माल्टामा रोजगारीका लागि आएका नेपालीहरु अहिले अलपत्र परेका छन्। एजेन्टमार्फत १२ लाख रुपैयाँसम्म तिरेर माल्टा आएका नेपालीहरु काम नपाएपछि समस्यामा परेका हुन्।

पाँच महिनाअघि माल्टा आइपुगेका गोर्खाका रामप्रसाद बगालेले आफू बिचल्लीमा परेको बताए। ‘खाएर बसेर ८० हजार रुपैयाँ महिनामा बचत हुने प्रलोभनमा पारेर ल्याए पनि एजेन्टहरुले अलपत्र अवस्थामा पारिदिए, उनले भने ।

खान बस्नमा समस्या भएको भन्दै एजेन्टहरुलाई हारगुहारगर्दा पनि सहयोग नपाएको गुनासो बगालेले बताएका छन् । ‘कोरानाले गर्दा काम पनि पाइएको छैन, धेरैथोरै सहयोग गरिदिनुपर्‍यो भन्दा पनि कुनै मतलव गर्दैनन्।’

गुल्मी तम्घासकी अनिता गौतमको भोगाइ पनि उस्तै छ। उनले सुनाइन्, ‘आश्वासनमा परेर माल्टामा आइयो। तर, यहाँ खान बस्नका लागि नेपालबाट नै रकम झिकाउनुपर्ने बाध्यता छ।’ पाँच महिनादेखि घरबाटै पैसा मगाएर आफू चलिरहेको उनले सुनाइन्।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष राजु अर्याल ९(बाबु) ले व्यक्तिगत स्पोन्सरसिपमा एजेन्टमार्फत आफ्नो परिवार, नजिकका आफन्त र नातेदारलाई माल्टा झिकाएको स्वीकार गरेका छन्। मैले आफन्तीहरु ल्याएको छु। अध्यक्ष अर्याल भन्छन्, ‘मैले गर्ने होइन, यहाँका एजेन्टहरुलाई डकुमेन्ट बुझाउने हो। उहाँले मागेको रकम दिएर नेपालीलाई सहयोग गरेर मात्रै हो। आफन्तीलाई म्यानपावर व्यवसायीसँग वा अन्य माध्यमबाट ल्याउनुभन्दा केही सहुलियत रकममा ल्याउन सकिन्छ भनेर सहयोग गरेको हुँ।’

उनले समस्यामा परेका नेपालीहरुलाई सहयोग गरिरहेको बताए। अर्यालले भने, ‘जसले ल्याएको छ, उही जिम्मेबार बन्नुपर्छ। योबारे सचेत छौ।’ आफूले केही सहुलियतमा कम्पनीमा लाग्ने रकममात्र लिएर माल्टा ल्याएको उनी स्वीकार्छन्।

संघका महासचिव सन्देश केसीले मानिसहरू ल्याएको स्वीकार गर्दै आफ्नो जिम्मेवारी आफैंले लिने बताए। उनले भने, ‘कार्यसमितिका साथीहरु जसले कामदार ल्याउनुभएको छ, उहाँहरुले पूर्ण जिम्मेवारीका साथ हेर्नुहुन्छ भन्ने लाग्छ। मेरो व्यक्तिगत तवरबाट आफ्नो जिम्मेवारी निभाउँछु।’

केसीले माल्टामा नेपाली ल्याउन नेपालीनेपालीबीच नै प्रतिस्पर्धा हुने खुलासा समेत गरे। केसीले भने, ‘नेपालीहरुको एजेन्ट बन्न नै प्रतिस्पर्धा हुने गर्छ। कुनै कम्पनीले एक ब्यक्तिको दुई हजार युरो लिन्छु भन्यो भने अर्को नेपाली पुगेर ३ हजार युरो तिर्छु भनिदिन्छ। त्यसैले पनि नेपालदेखि मोटो रकम बुझाउनुपरेको हो।’

उनले व्यक्तिगत स्पोन्सरसिपमा माल्टा आउँदा कडाइ हुने हुँदा श्रमस्वीकृतिदेखि एयरपोर्टसम्म सेटिङका नाममा समेत ठगी हुने गरेको बताए।
ब्रिटेनको पूर्वउपनिवेश माल्टा अहिले नेपालीहरुका लागि युरोप छिर्ने बाटो बनेको छ। कतिपय नेपालीहरु माल्टा हुँदै स्पेन र पोर्चुगल आउने गरेका छन्। एकातर्फ रोजगारीका नाममा नेपालीले नेपालीलाई नै ठगिरहेका छन् भने अर्कोतर्फ माल्टाको सरकारले आफ्नो देशको भिसाको दुरुपयोग भएको भन्दै गुनासो पोखिसकेको छ।

कुनै पनि गैरकानुनी काममा संग्लग्न्न रहेको प्रमाण भएमा दोषीलाई प्रचलित कानुनअनुसार सजायँ हुने माल्टालाई समेत हेर्दै आएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ। दूताबास उपनियोग प्रमुख शरदराज आरनले पीडितहरु कसैले पनि दूतावासमा उजुर नगरेको बताए।
सबै डिटेल खुलाएर दूतावासमा उजुरी हाल्न उनले अनुरोध गरे।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]