काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि प्रभावकारी रूपमा लागू गराउन गृह मन्त्रालयलाई निर्देशन दिन अनुरोध गरेको छ ।

आयोगले प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई आचारसंहिता उल्लङ्घन भए तत्काल कानुनी कारबाही गर्न र जानकारी गराउन भनेको छ । मतदानको मितिभन्दा सात दिनअघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री–वितरण तथा सेवनमा रोक लगाउन पनि आयोगले आग्रह गरेको छ ।

मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाइने जनाइएको छ । हवाई उडान भने यथावत् रहने र टिकट भएका यात्रुलाई एयरलाइन्स वा निजी सवारी प्रयोग गर्न दिने व्यवस्था मिलाइने आयोगले स्पष्ट पारेको छ ।

Nepal Telecome

साथै, मतदाताले मतदान केन्द्रमा जाँदा मतदाता परिचयपत्र वा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्ने जनाएको छ । मतदानको दिन प्रयोग हुने सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा विशेष इकाइ स्थापना गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।