काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले २० जनाको नाम टुङ्ग्याएको हो ।
कांग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्ने छ । सोहीअनुसार सांसद छानिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उनले भने, ‘गत निर्वाचनको कुल सदर मत १ करोड ८ लाख ३५ हजार ३५ मध्ये नेपाली कांग्रेस पार्टीले १७ लाख ५९ हजार १७२ मत प्राप्त गरेको थियो । निर्वाचन आयोगको नियम बमोजिम हामीले प्राप्त गरेको मतको आधारमा २० वटा सिट संख्या प्राप्त गरेको छ । २० जना प्रतिनिधि पठाउछौं, त्यसमा १५ जना महिला अनिवार्य छ । आदिवासी जनजातिबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट मिलाएर अन्य सांसद चयन गरिएको छ ।’
उनले सङ्घीय संसद्‍मा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्ने भएकाले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेको बताए । उनले विभिन्न क्लस्टर मिलाएर समानुपातिक सांसद छानिएको र आइतबार नै निर्वाचन आयोगमा नामावली बुझाइने जानकारी दिए ।
प्रवक्ता चालिसेले बन्दसूचीमा आधारित भएरै निर्णय गरिएको र आयोगले रुजु गरेपछि नामावली सार्वजनिक हुने बताए ।