काठमाडौं । लोकप्रिय गायिका मिरा राणाले अब आफ्नो व्यक्तिगत संंघर्षलाई सामाजिक अभियानमा रूपान्तरण गरेकी छन् । उनले आफ्नो अध्यक्षतामा ‘मीरा क्यान्सर समाज’ स्थापना गर्दै क्यान्सरविरुद्धको लडाइमा सामूहिक साथ र सहकार्यमा पाईला चालेकी हुन् ।
सेवा, सहयोग र सदभावको उद्धेश्यका साथ क्यान्सरविरुद्वको लडाईँमा हामी सबै एकसाथ भन्ने नाराका साथ मिराले सो समाजको स्थापना गरेकी हुन् । उमेरले सात दशक र गायन करियरले ६ दशक पार गरेकी मिराले आफु कुनै समय गम्भिररुपमा अस्वस्थ भएको त्यसलाई जित्नका लागि सबैभन्दा पहिले घर परिवार र अस्पतालमा चिकित्सकको व्यवहारले ठूलो महत्व राख्ने बताइन् ।

‘मलाई स्वास्थ्यमा समस्या भएपछि यहाँ धेरै ठाउँमा परिक्षण गराएँ । तर केही उपलब्धि नभएपछि उपचारका लागि बेलायत गएकी थिएँ । मेरो सम्पूर्ण रिपोर्ट हेरेर त्यहाँको डाक्टरले तपाईँ त महान गायिका हुनुहुँदो रहेछ भन्दै खुशी ब्यक्त गर्नुभयो । पछि रोगको पहिचान सुनाउनु भयो । डाक्टरले हास्दै हामी सबै ठिक पाछौँ, हामी छौ नि भन्नुभयो । त्यो सुनेपछि मलाई ठूलो हौसला मिल्यो । जब मेरो अपरेशन थियो त्यो बेला ६÷७ जना डाक्टर थिए । मलाई बेडमा सुताएर हरेक डाक्टरले हौसला दिँदै आ आफ्नो कामबारे बताए । मलाई माया गर्ने यति धेरै रहेछन् भन्ने लाग्यो । त्यहाँको डाक्टरको व्यवहारले नै आधा रोग हराएको जस्तो हुने रहेछ ।’

मिराले नेपालमा त्यस्तो अवस्था नरहेको जनाउँदै भनिन्, ‘मैले त विभिन्न अस्पतालका डाक्डरका साथ सजिलैसंँग सहजपूर्ण वातावरणमा उपचार र सल्लाह लिने मौका पाएँ । तर मैले अधिकाँशं विरामीको अवस्था देखेकी छ । जसले अस्पतालमा निकै सास्ती व्यहोर्नू परेको छ । त्यसमाथि क्यान्सर प्रभावितले भोग्नुपर्ने सास्ती ठुलै देखेकी छु । अस्पतालमा डाक्टरहरुले विरामीलाई हाँसेर म छु मात्र भने पनि धेरै हौसला मिल्छ’ मिराले कार्यक्रममा सहभागी सबै चिकित्सकसँग आग्रह गरिन् ‘बाहिर विरामी जति धेरै होउन् । तपाईंहरुले एकपटक बाहिर निस्केर सबैका अगाडि हासेर म छु है भन्दिनुभयो विरामीको आधा रोग त्यसै ठिक हुन्छ । उनीहरुलाई ठुलो आत्मबल मिल्छ ।’

Nepal Telecome

कार्यक्रमका रेडीयोकर्मी तथा सल्लाहकार धन लामाले स्वागत मन्तव्य प्रस्तुत गर्दै मिरा राणाले आफ्नो उद्धेश्य र ठूलो सपनालाई पुरा गरेको र त्यसलाई साकार पार्न सबैको सहयोग आवश्यक रहेको बताईन् । प्रमूख अतिथि तथा समाजका सल्लाहकार भक्तपुर क्यान्सर अस्पतालका निर्देशक रोशन प्रजापतिले मिरालाई भेट्दा उनको जोश देखेर उत्साहित भएको बताइन् । उनले क्यान्सर रोग र सोबाट बच्नका लागि गर्नूपर्ने विभिन्न उपायबारे चर्चा गरे ।

समाजकी सचिव हेमा मानन्धरले क्यान्सर भएपछि पनि जीवन फूल्नुपर्छ र फूल जस्तै फक्रनूपर्छ भन्ने उद्येश्यले मीराले समाजको गठन गरी क्यान्सर प्रभावितलाई सघाउन पाइला अगाडि सारेको बताइन् । गीतकार तथा समाजका सल्लाहकार आनन्द अधिकारीले मिराले क्यान्सर समाजको थालनी गरेर महायज्ञको थालनी गरेको र आफूहरु चारु हाल्न तयार भएको बताए । कलाकार तथा समाजका सल्लाहकार मदनदास श्रेष्ठले केहि वर्ष अघि आफ्नी छोरीलाई समेत क्यान्सर भएको र निको भएको स्मरण गर्दै क्यान्सर केहि होईन भन्नका लागि एउटा संस्था जरुरी रहेको र त्यो मिरा राणाले पुरा गरेको बताए ।

पाटन अस्पतालका क्यान्सर विषेशज्ञ तथा समाजका सल्लाहकार डा. अरुण शाहीले पाटन अस्पतालले एक विदेशी संस्थाको सहयोगमा क्यान्सरका विभिन्न खाले औसधि निःशुल्क वितरण गरिरहेको जानकारी गराउदैं मिराले आफूले भोगेको पीडा अरुले भोग्न नपरोस् भन्ने भावनाले गरेको कार्यको प्रशंसा गरे । तिलगंगा आखा प्रतिष्ठानकी नेत्र विशेषज्ञ तथा समाजकी सल्लाहकार पूर्णिमा राजकर्णीकारले मिराले गरेको कामको सह्राना गर्दै क्यान्सर रोगका बिरामीलाई हौसलाको जरुरी रहेको बताईन् । उनले आफू आखाको क्यान्सरको उपचारमा सक्रिय रहेको जनाउँदै धरैजसो बालबालिकामा यो समस्या व्याप्त रहेको खुलाइन् ।

भक्तपुर क्यान्सर अस्पतालकी स्त्री क्यान्सर रोग विशेषज्ञ तथा समाजकी सल्लाहकार डा. सृष्टि श्रेष्ठ प्रजापतिले आफूले पनि क्यान्सर रोगका बिरामीहरुको सेवा र सहयोगका लागि रक्षा क्यान्सर केयर सोसाईटी मार्फत सेवा गर्दै आईरहेको जनाउँदै मिराको कार्यमा आफ्नो सहयोग रहने बताईन् ।

पत्रकार तथा समाजका सल्लाहकार विद्र गिरीले मिरा राणाले क्यान्सर प्रभावित र तीनको उपचारमा पुलको काम गर्न अग्रसर गायिका राणालाई सबैले साथ दिनुपर्नेमा जोड दिए । आफै क्यान्ससँग लडेर अरुलाई बचाउनुपर्छ भन्ने उद्धेश्यका साथ लगेको र त्यस कार्यमा सम्पूर्णले साथ दिनुपर्ने बताए । अधिवक्ता तथा समाजका सल्लाहकार लक्ष्मण मर्हजनले नेपालमा धेरै संस्थाहरु जन्मिए पनि तीमध्ये अधिकाशं ६ महिना पनि टिक्न नसकेको जनाउँदै संस्था खोले जस्तै चलाउन पनि विभिन्न कानुनी पाटोमा ध्यान दिनुपर्ने सुझाए ।

समारोहमा संगीतकार दीपक जंगम, गीतकार कपिल लोहनी, तीलगंगा आँखा अस्पतालका दिनेश पोखरेल, रुपी सिँहलगायतले समाजका कार्यमा साथ दिने प्रतिबद्धता जनाए ।
समाजको उपाध्यक्षमा सिदार्थ राणा, कोषाध्यक्ष सुरक्षा सिजापती, सचिव हेमा मानन्धर, सह सचिवमा नविना शाक्य रहेका छन् । त्यस्तै अन्य सल्लाहकारमा गीतकार श्रीपुरुष ढकाल, राजाराम पौडेल, मनोहर सुनामलगायत रहेका छन् ।