काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बदन भण्डारीले काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीको खोजी कार्यलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया पत्नी दिलकुमारी पराजुलीको खोजीलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे।

Nepal Telecome

मण्डनदेउपुर वडा नं. ७ का ६८ वर्षीय केदारनाथ पराजुली र ६७ वर्षीया दिलकुमारी पराजुली, जो बोन म्यारो क्यान्सरबाट पीडित हुनुहुन्थ्यो, उहाँहरू दोलालघाटस्थित दोलालेश्वर मन्दिर पुगेपछि सुनकोशीमा हाम फालेर बेपत्ता हुनुभएको छ। उहाँहरूको खोजी भइरहेको छ। नेपाल सरकारले यसलाई विशेष प्राथमिकताका साथ अघि बढाओस्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोलीले खोजी गरिरहेका छन्। उहाँहरूको अवस्था तत्काल पत्ता लगाइयोस् भन्ने मेरो जोडदार माग छ,’ उनले भने ।

सांसद भण्डारीले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकार जनताप्रति जिम्मेवार बन्नुपर्ने बताए।

‘वृद्ध बा–आमा बेपत्ता भए भलै, सरकार बेपत्ता नहोस्। बोन म्यारो क्यान्सरको समस्या निकै जटिल बन्दै गएको छ। नेपालमा यसको उपचार सीमित सरकारी अस्पताल, विशेषगरी सिभिल अस्पतालमा हुने देखिन्छ। यस्ता बिरामीका लागि उपचार पहुँच र राज्यको सहयोग अझ प्रभावकारी बनाउन आवश्यक छ,’उनले भने ।

उनले बेपत्ता दम्पतीको खोजी कार्यलाई तीव्र बनाउनुका साथै गम्भीर रोगबाट पीडित नागरिकको उपचार पहुँच र सामाजिक सुरक्षामा सरकारको ध्यान जानुपर्ने आवश्यकता औंल्याए।