काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको महाविनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति साहित्यिक संस्था समन्वय समितिको संयोजनमा सामूहिक श्रद्धाञ्जलिसभा सम्पन्न भएको छ ।
पशुपतिनाथ क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअगाडि बागमती नदी किनारमा विभिन्न साहित्यिक संघसंस्था तथा स्रष्टाहरूले सामूहिक रूपमा दीपप्रज्वलन गरी बाढीमा ज्यान गुमाउनेहरूप्रति १३औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

शोकसभामा साहित्यिक संस्था समन्वय समितिका संयोजक तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै शोक मन्तव्य व्यक्त गरे । उनीहरूले संकटको समयमा सबै लेखक, कवि तथा स्रष्टाहरू एकजुट भएर पीडितको साथमा उभिनुपर्नेमा जोड दिए ।

Nepal Telecome

नेपाली भाषा, साहित्य तथा कलाक्षेत्रमा क्रियाशील करिब एक सयभन्दा बढी संस्था आबद्ध रहेको साहित्यिक संस्था समन्वय समितिको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागी स्रष्टाहरूले दीप तथा मैनबत्ती प्रज्वलन गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूको स्मरण गरे । उनीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरे ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान ११ बजेसम्मको विवरणअनुसार भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार तीन सय ५५ पुगेको छ । बाढी प्रभावित क्षेत्रबाट चार हजार नौ सय ९६ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।