काठमाडौं। नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको आयोजनामा विजयादशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
पूर्वमन्त्री तथा महासंघका प्रमुख सल्लाहकार जीतु गौतमको प्रमुख आतिथ्यता तथा महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा कपडा तथा सिलाइ व्यवसायीबीच एकता, सहकार्य, संस्थागत सुदृढीकरण र व्यवसायको आधुनिकीकरणमा जोड दिइएको थियो।

Nepal Telecome

कार्यक्रममा महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्दै कपडा तथा सिलाइ व्यवसायमा आबद्ध सम्पूर्ण व्यवसायीलाई एउटै संस्थागत छातामुनि एकताबद्ध गराउने महासंघको उद्देश्य रहेको बताउनुभयो। उहाँले व्यवसायीहरूको हकहित, पेसागत सम्मान र आर्थिक समृद्धिका लागि महासंघ निरन्तर प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।

कपडा तथा सिलाइ व्यवसाय केवल जीविकोपार्जनको माध्यम मात्र नभई नेपाली मौलिक पहिचान, सीप, कला, संस्कृति र उद्यमशीलतासँग जोडिएको महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले यस क्षेत्रको संरक्षण, प्रवर्द्धन र आधुनिकीकरणका लागि सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले स्वदेशी उत्पादनको प्रयोग तथा प्रवर्द्धन, दक्ष जनशक्ति उत्पादन, सीप विकास, आधुनिक प्रविधिको उपयोग र व्यवसायीमैत्री नीति निर्माणका लागि महासंघले सम्बन्धित निकायसँग समन्वय तथा पहल गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख अतिथि जीतु गौतमले व्यवसायीहरूको एकता, सहकार्य र संस्थागत मजबुती नै समग्र क्षेत्रको विकासको आधार भएको बताउनुभयो। उहाँले महासंघलाई अझ सशक्त, प्रभावकारी र व्यवसायीहरूको साझा आवाजका रूपमा स्थापित गर्न आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा महासंघका उपाध्यक्ष प्रेम महर्जन, कोषाध्यक्ष राज कार्की, स्थायी कमिटी सदस्य तथा राष्ट्रिय महिला उद्यमी समितिकी सचिव संगीता लामिछाने, बागमती प्रदेश संयोजक भीम दर्नाल, केन्द्रीय सदस्य ताराबहादुर परियार र रामप्यारा छिनाल, काठमाडौं जिल्ला अध्यक्ष उद्धवबहादुर थापा मगरलगायत विभिन्न तहमा आबद्ध पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी महासंघअन्तर्गतका विभिन्न प्रदेश, जिल्ला संघ तथा राष्ट्रिय महिला उद्यमी समितिमा आबद्ध पदाधिकारी एवं सदस्यहरूको पनि सहभागिता रहेको थियो।
कार्यक्रमले कपडा तथा सिलाइ व्यवसायीबीच आपसी एकता, सहकार्य र संस्थागत एकजुटताको महत्त्वलाई थप उजागर गरेको छ। व्यवसायीका साझा समस्या, चुनौती र अवसरलाई सामूहिक रूपमा पहिचान गरी समाधानका लागि एकीकृत आवाज उठाउने, स्वदेशी कपडा तथा सिलाइ व्यवसायको संरक्षण तथा प्रवर्द्धन गर्ने, परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्ने र नयाँ पुस्तालाई यस पेसाप्रति आकर्षित गर्ने विषयमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएको छ।

महिला उद्यमशीलताको विकास, सीपमूलक रोजगारी सिर्जना, व्यवसायीको पेसागत सुरक्षा, सम्मान र आर्थिक आत्मनिर्भरताका लागि सबै तहका संघसंस्था तथा व्यवसायीबीच सहकार्य अपरिहार्य रहेको विषयलाई पनि कार्यक्रमले प्राथमिकताका साथ उठाएको थियो।

‘एकता नै शक्ति हो, सहकार्य नै विकासको आधार हो र स्वदेशी सीप तथा उत्पादनको प्रवर्द्धन नै समृद्धिको बाटो हो’ भन्ने भावनालाई आत्मसात् गर्दै महासंघले समग्र कपडा तथा सिलाइ व्यवसायको संस्थागत विकास र व्यवसायीहरूको साझा हितका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।
आपसी सद्भाव, एकता, भाइचारा र संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो। महासंघले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।