काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका९७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका-१६ बस्ने ४३ वर्षीया उमा गुरुङ, ललितपुर महानगरपालिका-७ बस्ने कास्की घर भएका ३३ वर्षीय आशिष महत र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन् ।

पक्राउ मध्ये अर्जुनले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रुपैयाँ, डिल्लीले मालदिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९९ हजार रुपैयाँ, उमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ, आशिषले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख रुपैयाँ र संगिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६८ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

Nepal Telecome

प्रहरीले उमा र संगितालाई काठमाडौं महानगरपालिका-१२ बाट तथा आशिषलाई काठमाडौं महानगरपालिका-१० बाट आइतबार पक्राउ गरेको हो । साथै अर्जुनलाई काठमाडौं महानगरपालिका-४ बाट र डिल्लीलाई काठमाडौं महानगरपालिका-९ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।