काठमाडौं । आगामी साउन २२ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हली’ को टिजर सार्वजनिक गरिएको छ। टिजरले नेपाली समाजमा अझै विद्यमान छाउपडी कुप्रथालाई मुख्य विषय बनाउँदै त्यसविरुद्ध सशक्त सन्देश दिएको छ।
बिग मुभिजमा एका कार्यक्रमको आयोजना गरी हलीको टिजर सार्वजनिक गरिएको थियो । सोही कार्यक्रममा हलीका कलाकारहरु प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, ओम प्रतीक गुरुङ लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचारकर्मी नरेश भट्टराईले संचालन गरेका थिए ।
कार्यक्रममा बोल्दै लेखक निर्देशक ओम प्रतीकले एउटै विषयमा उपन्यास लेखिन्छ, चलचित्र बनाइन्छ तर चलचित्रमा दिने प्रस्तुतिले फरक रुपमा सन्देश प्रवाह गर्न सक्ने बताए । उनले छाउगोठका विषयलाई लिएर छाउगोठसम्म पुग्दा हेरिने दृष्टिकोणले झन् पीडा दिएको बताए ।
त्यस्तै चलचित्रको अभिनेत्री सुजाता थापाले आफू पूर्वको भएको र छाउपडी प्रथा सुनेको मात्र भए पनि चलचित्रमा वास्तविक अभिनय गर्दा त्यहाँको यथार्थ चित्रण गर्न सफल भएको बताइन् । त्यसैगरी अभिनेता प्रमोद दीपले आफूले चलचित्रमा हलीको भूमिका निभाएको र समाज परिवर्तनमा पढेलेखेको मान्छे भन्दा पनि अनपढ हलीले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने कुरा चलचित्रभित्र रहेको बताए ।
सार्वजनिक टिजरमा महिनावारी भएकी किशोरीलाई छाउगोठमा राख्ने, परिवारका सदस्य तथा बुबाको समेत अनुहार हेर्न नहुने जस्ता सामाजिक अन्धविश्वासलाई चित्रण गरिएको छ। यिनै कुप्रथाविरुद्ध शिक्षित एक युवाले कानुनी लडाइँ सुरु गरेको कथावस्तुले टिजरलाई थप प्रभावशाली बनाएको छ।
ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्रमा ओम प्रतिक, सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रमा पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको छ।
यसअघि सार्वजनिक गरिएको प्रमोसनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष उपस्थितिले चर्चा बटुलेको थियो।
चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्माता नम्रता भण्डारी तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन्।



