लण्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुली गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ यूरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन आयरल्याण्डको राजधानी डब्लिन पुगेका छन्।

Nepal Telecome

डब्लिनस्थित र्याडिसन होटलमा सोमबारदेखि दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा पराजुलीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको हो। उनी आइतवार साँझ डब्लिन पुग्दा एनआरएनएका अध्यक्ष डा.हेमराज शर्मा लगायत पदाधिकारीहरूले स्वागत गरेका थिए।

सम्मेलनमा यूरोपसहित विश्वका विभिन्न क्षेत्रबाट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारी, उद्यमी, पेशाकर्मी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा १० वटा प्रमुख विषयगत सत्रहरू आयोजना गरिनेछन्। यस वर्षको सम्मेलनले विशेषगरी गैरआवासीय नेपाली नागरिकता तथा अधिकार, नेपालमा लगानी, महिला, युवा तथा दोस्रो पुस्ताको सहभागितालाई प्राथमिकतामा राखेको छ।

महिला केन्द्रित सत्रहरूमा उद्यमशीलता, आर्थिक सशक्तीकरण, सुरक्षित आप्रवासन, स्वास्थ्य तथा कानुनी पहुँचका विषयमा छलफल गरिनेछ। त्यसैगरी, युवा तथा दोस्रो पुस्तासम्बन्धी सत्रहरूले नेतृत्व विकास, सूचना प्रविधि, उद्यमशीलता, पहिचान, भाषा–संस्कृति तथा नेपालसँगको दीर्घकालीन सम्बन्धमा केन्द्रित रहनेछन्।

हालसम्म ३५ देशबाट २०० भन्दा बढी सहभागीहरूको सहभागिता सुनिश्चित भइसकेको छ भने कुल सहभागिता करिब २५० पुग्ने अपेक्षा गरिएको छ।

सन् २००३ मा स्थापना भएको एनआरएनएले विश्वभर रहेका नेपाली तथा नेपाली मूलका समुदायलाई एक साझा मञ्चमा जोड्दै उनीहरूको हकहित संरक्षण, नेपालसँगको सम्बन्ध सुदृढीकरण तथा विदेशमा आर्जित ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ। हाल संघको सञ्जाल करिब ९२ देशमा विस्तार भइसकेको छ र एक लाखभन्दा बढी सदस्य आबद्ध छन्।