काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफूभित्रै बसेर बसमा आगो लगाएका छन्।
बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले बसभित्रै बसेर आगो लगाएको प्रहरीले जनाएको छ। घटनाका बेला बसमा कुनै पनि यात्रु नरहेको बताइएको छ।
चालक लामाले बसभित्रै बसेर आगो लगाएपछि बस ह्वारह्वार्ती जलेको थियो। आगलागी भएपछि तत्काल घटनास्थलमा दमकल पुगेर आगो नियन्त्रणमा लिएको थियो।
आफैँले लगाएको आगोबाट जलेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
चालकले आफ्नै बसमा किन आगो लगाए भन्ने कारण भने अहिलेसम्म खुलेको छैन। प्रारम्भिक जानकारीअनुसार ट्राफिक प्रहरीसँगको विवादपछि आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने आशंका गरिएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकाले यसबारे विस्तृत अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको बताएका छन्।



