" /> भागरथी हत्याकाण्डको अनुसन्धान मोबाइलमा नै केन्द्रीत – News of Global

News of Global आइतबार, माघ २५, २०७७

काठमाडौं । बैतडीको दोगडाकेदार–७ मा १७ वर्षीया भागरथी भट्टको हत्या भएको विषयमा प्रहरी अनुसन्धान उनको मोबाइलमा केन्द्रित भएको छ । शव भेटिएको स्थानबाट २० मिटर अगाडि मोबाइल भेटिएसँगै त्यसको प्राविधिक विश्लेषणमा प्रहरी जुटेको छ । र, मोबाइलबाट महत्वपूर्ण सुराक हात पर्ने प्रहरीले अपेक्षा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार मोबाइलको प्राविधिक विश्लेषणको काम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट गएको टोलीले गरिरहेको छ । ब्युरोले नै कल डिटेल रेकर्ड (सीडीआर), बीटीएस लगायतका प्राविधिक पक्षको विश्लेषण गर्नेछ ।

रगताम्ये यौनांग र शरीरको विभिन्न ठाउँमा चोटपटक भएको अवस्थामा बिहीबार भट्टको शव सडक नजिकैको जंगलमा भेटिएको थियो । लगत्तै प्रहरी प्रधान कार्यालय, नक्सालले सीआईबीलाई टोली खटाउन निर्देशन दिएको थियो । त्यसपछि निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा खटिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई बैतडी पठाइएको हो ।

अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार मोबाइलबाट केही विषयहरु डिलिट भएको हुनसक्ने भएकाले प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पठाउने तयारी गरिएको छ । मोबाइलबाट गरिएको अनुसन्धानकै आधारमा प्रहरीले घटनामा चिनजानकै व्यक्ति संलग्न हुनसक्ने आशंका गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर पनि घटनाको विषयमा संवेदनशील भएर वैज्ञानिक अनुसन्धान थालिएको बताउँछन् । अनुसन्धानका लागि प्रदेश प्रहरी प्रमुख आफैं पनि घटनास्थलमा पुगिसकेको स्रोतले बताएको छ ।

शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिए पनि जिल्ला अस्पताल, बैतडीले पोष्टमार्टम रिपोर्ट दिइनसकेकाले यकिन भइसकेको छैन ।

भागरथी हत्या प्रकरणलाई कञ्चनपुरको निर्मला हत्या प्रकरणसँग दाँजेर हेरिएको छ र निर्मला प्रकरणमा जस्तै प्रहरीले कमजोरी नगरोस् भनेर नागरिक समाजले घच्घच्याइरहेका छन् । नेकपा प्रचण्ड–माधव समूहले पनि प्रकरणको सत्य, तथ्य अनुसन्धान गरेर यथाशिघ्र दोषीलाई सार्वजनिक गर्न माग गरेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]