नक्कली साँचो चीनबाट एटीएमको पैसा झिकियो

साँचो छिराएँ मेशिन खुल्यो

News Of Global शुक्रबार, चैत्र २०, २०७७

काठमाडौं । काठमाडौँ महानगरपालिका–२७ स्थित ज्याठामा एकजना चिनियाँ नागरिक मेगा बैङ्कको एटीएम बुथमा छिरे । तर, त्यहाँ उनले कार्डबाट पैसा झिकेनन् । बरु, साँचो निकालेर मेशिन नै खोल्न थाले । यता, बैङ्कका सुरक्षा गार्डको आँखा सीसी क्यामेरामा थियो । चिनियाँ नागरिकले मेशिन खोल्न थालेपछि उनले महानगरीय प्रहरी वृत दरबारमार्गमा फोन गरेर भने, ‘विदेशी नागरिकले एटीएम लुट्दै छन् ।’ महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रामेश्वर पौडेल र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसी तत्काल घटनास्थलमा पुगे । त्यतिबेला चिनियाँ नागरिक वाङ जियाओलो एटीएम मेशिनको सिरियल नम्बरको फोटो खिचिरहेका थिए । जियोओलोलाई प्रहरीले पक्राउ गर्यो । मेशिन खोल्ने साँचोबारे सोध्दा उनले जवाफ दिए, ‘चीनबाट साँचो लिएर आएको थिएँ, साँचो छिराएँ मेशिन खुल्योफोटो पठाउन भ्याएको छैन ।’
‘पैसा झिक्नेभन्दा सिरियल नम्बरको फोटो चीनमा पठाउने उनको मुख्य उद्देश्य देखिन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने–‘नक्कली साँचो कसरी बनाए भन्नेबारे अनुसन्धान गरिरहेका छौँ ।’ चीनबाट नेपाल आउने बेला विमानस्थलमा साथीले आफूलाई ६५ डलर पैसा र साँचो दिएको वाङ जियाओलोले प्रहरीलाई बताएका छन् । प्रहरीसँगको बयानमा उनले भनेका छन्, ‘एटीएमको सिरियल नम्बर सहितको फोटो खिचेर पठाउनु भनेको थियो ।’ चैत १६ मा नेपाल आएका उनले नेपाल ओर्लेर पहिलो एटीएमा साँचो छिराउँदा नखुलेपछि दोस्रोमा प्रयास गरेका थिए ।
जियाओलो २९ वर्षका छन् । उनीसँग फेला परेको साँचोले एटीएम मेशिन खोलेर पैसा निकालेपछि पुरानै अवस्थामा लक गरेर हिँड्न सकिने प्रहरीको भनाइ छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]