" /> नागढुङ्गा–मुग्लीन सडक ११ मिटर चौडाको बन्दैछ – News Of Global

News Of Global बुधबार, बैशाख ०८, २०७८

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक विस्तारको योजना अघि बढाइने भएको छ । यसअघि मुग्लिन–नारायणगढ सडक विस्तार गरिएकामा आगामी आर्थिक बर्षदेखि नागढुङ्गा–मुग्लिन विस्तार गर्ने तयारी अघि बढाइएको हो । निर्माण सुरु भएको ५ वर्षमा पूरा गर्ने लक्ष्य लिइएको छ ।

९२ किलाेमिटर लामाे यो सडक विस्तारको कार्य विश्व बैंकको सहुलियतपूर्ण ऋणमा गर्न लागिएको हो । विस्तारको काम तीन खण्डमा विभाजन गरेर अघि बढाइने नागढुङ्गा–मुग्लिन सडक योजनाले जनाएको छ । जसअन्तर्गत नागढुङ्गा–नौबिसे, नौबिसे–मलेखु र मलेखु–मुग्लिन खण्ड छन् ।

नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखु खण्डको प्रारम्भिक अध्ययन सकिएको योजना प्रमुख अमृतमणि रिमालले बताए । उनका अनुसार सो खण्डको मूल्याङ्कन सकिएर विश्व बैंकमा स्वीकृतिका लागि पठाइएको छ । आगामी आवमा तीन खण्डको ठेक्का प्रक्रियामा जाने उनको भनाइ छ । ‘आगामी आवमा ठेक्कामा गएर दसैंसँगै निर्माण सुरु हुनेछ,’ उनले भने ।

विस्तारका लागि ठेक्का प्रक्रियामा जानु पहिले सडकको अधिकार क्षेत्र खाली गराउन थालिएको प्रमुख रिमालले बताए । अहिले रुख काट्ने र पोल सार्ने काम भइरहेको छ । त्यस्तै, पुल निर्माण गर्ने स्थानमा जग्गाको मुआब्जाका लागिसमेत प्रक्रिया थालिएको छ ।

यो खण्डमा २६ पुल निर्माण हुनेछन् । सडक कम्तीमा ११ मिटर चौडा हुने बताइएको छ । मुग्लिन–नारायणगढ खण्डमा जस्तै यो खण्डमा पनि अहिले भएका पुल त्यहीं छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण गर्न लागिएको छ । सडकको अधिकार क्षेत्रमा व्यक्तिगत सम्पत्ति नभएकाले निर्माणस्थल खाली गर्न समस्या नहुने उनको भनाइ छ । ‘सडकको केन्द्रबाट १५/१५ मिटर लिँदा ठूलो समस्या हुने छैन,’ उनले भने ।

सडक निर्माणका लागि वातावरणीय अध्ययन गर्न प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिए । यसका लागि सम्बन्धित सडक डिभिजन कार्यालयलाई पत्राचार गरेर प्रक्रिया थालिएको छ । ‘ती कार्यालयबाट स्वीकृति भने आइसकेको छैन,’ उनले भने ।

काठमाडौं उपत्यकाबाट देशका पूर्व-पश्चिम दुवैतर्फ जान/आउन यो खण्डमा सवारीसाधनको अत्यधिक चाप हुने गर्छ । वैकल्पिक सडकबाट सवारीसाधनलाई पठाएर निर्माण गर्दा समयमै काम सकाउन सकिने उनले विश्वास व्यक्त गरे । मुग्लिङ–गल्छी खण्डसम्म वैकल्पिक सडक नभएकाले सवारीसाधन सञ्चालन र विस्तारको काम सँगसँगै अघि बढाउनुपर्ने अवस्था उनको भनाइ छ ।

यो खण्डमा भित्तामा एक लेन कटिङ गरेर एकातिरबाट सवारीसाधन जान दिने र अर्काे लेनमा निर्माण अघि बढाइने योजनाले जनाएको छ । गल्छीबाट नागढुङ्गासम्म भने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । सो सडकका विकल्पका रुपमा गल्छी–लामिडाँडा–भीमढुङ्गा र सीतापाइला–धार्के सडक प्रयोग गर्न सकिन्छ ।

पहिले छ/सात मिटर चौडाइ रहेकामा अहिले सडकलाई ११ मिटर हुने गरी विस्तार गर्न लागिएको हो । पहिलेभन्दा झण्डै दोब्बर चौडाइको सडक भएपछि सो खण्डमा सवारी जामको समस्या हल हुने आशा गरिएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने विभिन्न नाकामध्ये सबैभन्दा बढी सडक जाम यही सडकमा हुने गर्छ । सरकारले नागढुङ्गा–सिस्नेखोला खण्डमा सुरुङमार्ग निर्माण अघि बढाइरहेको छ । नागढुङ्गा–मुग्लिन सडक सम्पन्न भएपछि काठमाडौं भित्रने वा बाहिरिने सवारीसाधन सजिलै आउजाउ गर्न सक्नेछन् ।

यसअघि ३६ किमि लम्बाइको मुग्लिन–नारायणगढ सडक विस्तार भइसकेको छ । सो खण्डमा पुल निर्माण अघि बढिरहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]