काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँग विगतमा भएका सन्धि–सम्झौता खारेज गर्न माग गरेका छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विगतमा भएका सन्धि सम्झौतालाई पारस्परिक र समानतामा आधारित बनाउनु पर्ने बताए ।

श्रेष्ठले सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । सन्धि–सम्झौताबारे सहमती जुटेको इपिजी प्रतिवदेन भारतले छिटोभन्दा छिटो बुझ्नुपर्ने बताए ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले नेपाल सीमा समस्या वार्ताकै माध्यमबाट समाधान गर्न तयार रहेको बताए । ऐतिहासिक तथ्य र प्रमाणको आधारमा समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

Nepal Telecome

कूटनीतिक संवादका निम्ति भारत छिटो तयार हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘भारतलाई वार्तामा आउन आह्वान गर्दछु ।’

दुवै पक्षले अनावश्यक आक्रोश, आवेश वा उत्तेजनामा आउने काम गर्न नहुने श्रेष्ठको भनाइ छ । बैठकमा उनले भारतीय सेना प्रमुखले नेपालबारे राखेको धारणा आपत्तीजनक भएको बताए । उनले भने, ‘नेपालबारे भारतीय सेना प्रमुख र पूर्व सचिवको भनाइ खेदजनक छ ।’

ऐतिहासिक तथ्य र प्रमाणहरूको आधारमा नेपालले आफ्नो वास्तविक नक्सा सार्वजनिक गर्ने निर्णय गरेपछि भारतका सेना प्रमुख मनोजमुकुन्द नरभानेले नेपालले कसैको (चीन) इसारामा यस्तो काम गरिरहेको आरोप लगाएका थिए ।