काठमाडौं । आइतबार दिउँसोसम्म जनता समाजवादी पार्टी दर्ताका लागि वरियतामा पहिलो नम्बरमा रहेका डा. बाबुराम भट्टराई आइतबार साँझ चौथो वरियतामा पुगे । पार्टी एकीकरण गर्दा भारतको निकट रहेकै कारण मधेस हानिएका उनी पार्टीमा पहिलो स्थानमा नै राज गर्ने सोचमा थिए अन्ततः चौथो नम्बरमा पुगेर मन बुझाउन बाध्य भएका छन् ।

डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्षका रुपमा पहिलो वरियतामा राखेर पार्टी एकताका लागि जाने सहमति भएको थियो तर पार्टीमा किचलो बढेपछि संघीय परिषद् नै हटाउने सहमति जुटेको हो।

संघीय परिषद् हटाइएसँगै भट्टराई पार्टीमा चौथो वरियतामा रहने गरी निर्वाचन आयोगमा कागजात बुझाइएको छ। राजपा र समाजवादीबीच कार्यकारी हैसियतमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने भएका छन्।

Nepal Telecome

भट्टराईले पार्टी एकताका लागि आफू त्याग गर्न तयार रहेको बताएपछि अरु नेताहरुले उनलाई चौथो वरियतामा बसेर सहयोग गर्न आग्रह गरेका थिए। भट्टराईको भनाइ उद्धृत गर्दे एक नेताले भने, ‘म दल एकीकरणका लागि त्याग गर्न तयार छु। तपाईहरुको कुरा मिलाउनुहोस्।’

त्यस्तै तेस्रो वरियतामा अशोक राई, चौथोमा भट्टराई र पाँचौ वरियतामा राजेन्द्र महतो रहने गरी आयोगमा जनता समाजावादी दर्ताका लागि कागजात बुझाइएको नेता डा. शिवजी यादवले जानकारी दिए।

निर्वाचन आयोग पुग्दासम्म भट्टराई ठाकुरपछिको दोस्रो वरियतामा रहने गरी निवेदन बनाइएको थियो। तर छ्लफल गर्दै जादा उनको नाम टिपेक्स लगाएर चौथो वरियतामा पुर्याइएको हो।


एकीकृत पार्टीको कार्यकारी समितिमा ५३ जना, राजनीतिक समिति एक सय ५१ र केन्द्रीय समितिमा सात सय एकजना रहने सहमति भएको छ। राजपा र समाजवादी पार्टी पार्टीले नयाँ दल जनता समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा कागजात बुझाए।

राजपाले ठाकुरलाई कार्यकारी अधिकारी दिनुपर्ने अडान राखेका थियो भने समाजवादीले ठाकुरलाई सेरिमोनियल भूमिका दिएर यादवलाई पार्टीको कार्यकारी भूमिका हुने गरी दल दर्ता गर्नुपर्ने अडान राखिरहेका बेला ठाकुर र यादव समान अधिकारसहितको अध्यक्ष हुने गरी दल दर्ता गर्ने सहमति जुटेको हो।

आयोगमा दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाइएको छ।