काठमाडौं । मुक्कुम्लुङ संरक्षण, कोशी नाम खारेजी तथा मुक्कुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनाको विरोध गर्दै आएका समुहहरुले तीनवटा एजेण्डा अघि सार्दै ती एजेण्डामा प्रतिबद्धता नजनाउने दल तथा उम्मेदवारलाई मत नदिन मतदातासँग अपिल गरेका छन् ।
शनिबार मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समिति तथा प्रदेश नं १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै मुक्कुम्लुङ संरक्षण तथा बचाउ, मुक्कुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजना खारेजी र प्रदेश नं. १ को नाम ‘कोशी’ खारेजको एजेण्डा अघि सार्दै ती एजेण्डामा प्रतिबद्धता नजनाउने दल तथा उम्मेदवारलाई मत नदिन मतदातासँग अपिल गरेका हुन् ।

साथै पार्टी र जातिभन्दा माथि उठेर आफ्नो मुद्दामा स्पष्ट अडान लिने उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका छन् ।
समितिले आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई आफ्ना एजेण्डा स्थापित गर्ने अवसरका रूपमा लिएको बताएका छन्।
उनीहरूले लामो समयदेखि मुक्कुम्लुङ क्षेत्र संरक्षणका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै आन्दोलनका क्रममा राज्य पक्षबाट दमन, कुटपिट, पक्राउ, मुद्दा तथा पक्राउ पुर्जी जारी गर्ने काम भएको आरोप लगाएका छन् । साथै अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा समेत दमन जारी रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

देशमा बढ्दो भ्रष्टाचार, कुशासन र राजनीतिक बेथितिविरुद्ध जनआक्रोश बढेको उल्लेख गर्दै आन्दोलनकारीहरूले २०८२ भदौ २३ र २४ गते भएको ‘जेन्जी आन्दोलन’ पछि राजनीतिक परिवर्तनको माग तीव्र भएको उनीहरुको भनाई छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई जनआवाज स्थापित गर्ने माध्यमका रूपमा प्रयोग गर्ने उनीहरूको योजना छ ।

Nepal Telecome