सिरहा । एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा सिरहामा राजनीतिक माहोल तातेको छ । घटनाप्रति आपत्ति जनाउँदै नेकपा एमाले, सिरहाले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेललाई औपचारिक रूपमा विरोधपत्र बुझाएको छ ।
एमाले नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा बुझाइएको उक्त विरोधपत्रमा ओलीको पक्राउलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भएको आरोप लगाइएको छ।
पार्टीले यस घटनालाई लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भन्दै तत्काल रिहाइको माग गरेको छ। साथै, शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि हस्तक्षेप नगर्न र कानुनी प्रक्रिया पारदर्शी बनाउन प्रशासनसँग जोडदार माग गरिएको छ ।
विरोधपत्र बुझाउने क्रममा एमाले नेताहरूले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै यस्ता गतिविधिले देशमा अस्थिरता निम्त्याउन सक्ने चेतावनी दिएका छन्। उनीहरूले यदि माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताएका छन्।