काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री सुधा शर्मा गौतमले आफ्नो छोटो कार्यकालमा आयुर्वेद क्षेत्रको विकास र सुदृढीकरणका लागि सीमित स्रोतका बावजुद महत्वपूर्ण आधारहरू तयार पारेको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद चिकित्सक संघको ११ औँ राष्ट्रराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री गौतमले पद सम्हालेपछि सुरुवाती समय विषयवस्तु बुझ्न लागे पनि त्यसलगत्तै ठोस कामहरू अघि बढाएको दाबी गरिन् ।
उनले आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रूपमा बुढानिलकण्ठस्थित पञ्चकर्म केन्द्र सञ्चालनको प्रक्रियालाई उल्लेख गरिन् । ‘बुढानिलकण्ठमा पञ्चकर्म केन्द्र सञ्चालनका लागि आवश्यक दरबन्दीको ओएनएम सर्वे गराएर केही दरबन्दी स्वीकृत गराउन सफल भयौं,’उनले भनिन् ।
उक्त प्रस्ताव सामान्य प्रशासन र अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको र अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लैजाने तयारीमा रहेको उनले जानकारी दिइन् । ऐतिहासिक महत्त्वको सिंहदरबार वैद्यखानाको खस्कँदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले अहिले यो संस्था बिस्तारै लयमा फर्कन लागेको बताइन् । वैद्यखानाको सेवा विस्तारका लागि थप दरबन्दी स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
आफ्नो कार्यकालमा काठमाडौंका कीर्तिपुर, क्षेत्रपाटी लगायतका स्थानका साथै विभिन्न जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन गरी वस्तुस्थितिको जानकारी लिएको उनले बताइन् ।
आयुर्वेद क्षेत्रको समग्र विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै पूर्वमन्त्री गौतमले यस क्षेत्रमा दीर्घकालीन योजना, उचित जनशक्ति व्यवस्थापन र नीतिगत सुधार अपरिहार्य रहेकोमा जोड दिइन् । आयुर्वेदको गरिमा बचाउन र सेवालाई जनस्तरसम्म पुरÞ्याउन सरकार र चिकित्सकहरू दुवैको सक्रियता आवश्यक रहेको उनको धारणा थियो ।
