सिरहा । सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा भारतीय सुटर प्रयोग गरिएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । लामो अनुसन्धानपछि दुवै घटनामा पारिवारिक रिसइबी मुख्य कारण रहेको खुलेको हो ।
गत माघ १६ गते सिरहा नगरपालिका–७ स्थित आफ्नै खेत नजिक गोली प्रहारबाट ४२ वर्षीय प्रेमनाथ यादवको हत्या भएको थियो ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले सिरहा नगरपालिका–१ का ५२ वर्षीय उपेन्द्र यादवलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उपेन्द्रले पुरानो पारिवारिक विवादका कारण भारतीय सुटरलाई सुपारी दिई हत्या गराएका हुन् ।
प्रहरी अनुसन्धानअनुसार हत्या गर्न तीन लाख रुपैयाँ दिने सहमति भएको थियो । जसमा एक लाख रुपैयाँ तत्काल दिएको र बाँकी दुई लाख दिन बाँकी रहेको बयान उपेन्द्रले दिएका छन् । उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यसै अनुसन्धानका क्रममा अर्को गोली प्रहार घटना पनि सार्वजनिक भएको छ । औरही गाउँपालिका–५ का श्यामसुन्दर शर्मामाथि माघ ४ गते राति गाउँकै जितिया मन्दिरमा सुतिरहेका बेला झ्यालबाट गोली प्रहार गरिएको थियो । टाउकोमा गोली लागेका शर्माको विराटनगरमा उपचारपछि अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय ५५ वर्षीय हरि ठाकुरले पनि पारिवारिक रिसइबीका कारण भारतीय सुटरलाई ५० हजार रुपैयाँ दिई श्यामसुन्दरमाथि ज्यान मार्ने उद्देश्यले गोली प्रहार गराएका थिए ।
घटनामा संलग्न भारतीय सुटरसहित उनीहरूलाई सम्पर्क गराउने अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र बनाइएको सिरहाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकले जानकारी दिएका छन् ।
