काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनावमा बहुमत वा दुई तिहाइ प्राप्त हुँदैमा जनताको समर्थन सधैं कायम रहन्छ भन्ने सोच गलत भएको बताएका छन् ।
नन्दप्रसाद जानुका फाउन्डेसनद्वारा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै थापाले तत्कालीन कांग्रेस नेतृत्वलाई नागरिकको असन्तुष्टिबारे पटक–पटक सचेत गराए पनि त्यसलाई गम्भीर रूपमा नलिइएको बताए ।
उनले निर्वाचनबाट प्राप्त संख्या मात्र लोकतन्त्रको आधार नभएको भन्दै जनताको निरन्तर समर्थन, नैतिक नेतृत्व र नागरिकको विश्वास पनि उत्तिकै महत्वपूर्ण हुने बताए ।
‘यतिबेला दुई तिहाइमाथि पनि प्रश्न उठिरहेको छ । पाँचपटक प्रधानमन्त्री भएको मान्छे छैटौँपटक भएन भनेर असन्तुष्ट हुन्छ । दुईपटक सभापति भएको मान्छे तेस्रोपटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ । महत्वाकांक्षा यसरी बढ्दै जान्छ,’ उनले भने ।
थापाले आफूले तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक आफ्ना असहमति र चिन्ता राखेको स्मरण गरे । आफूहरूले देखेका समस्या र दिएका सुझावलाई नेतृत्वले गम्भीर रूपमा नलिँदा त्यसको राजनीतिक मूल्य आफूहरूले समेत चुकाउनुपरेको उनको दाबी थियो ।
उनले लोकतन्त्रमा कानुनी वैधानिकता मात्र पर्याप्त नहुने भन्दै राजनीतिक निर्णयको नैतिक वैधता र नागरिक स्वीकार्यता पनि महत्वपूर्ण हुने बताए ।
‘डेमोक्रेसीमा संख्या मात्रै सबै कुरा होइन,’ थापाले भने, ‘नागरिकले मान्छन् कि मान्दैनन्, समाजले पत्याउँछ कि पत्याउँदैन भन्ने पनि हेर्नुपर्छ ।’
राजकीय पद प्राप्तिलाई मात्र राजनीतिक सफलताको मापदण्ड बनाउने प्रवृत्तिले दलभित्र असन्तुष्टि बढाएको पनि थापाले बताए । मन्त्री, सांसद, मेयर वा पार्टी सभापति बन्न नसके राजनीतिक जीवन असफल भएको ठान्ने सोचले दललाई नै असन्तुष्टि उत्पादन गर्ने संरचनामा परिणत गरेको उनको टिप्पणी थियो ।
यसैगरी, थापाले कांग्रेसको विशेष महाधिवेशन तथा आन्तरिक वैधानिकतासँग सम्बन्धित सर्वोच्च अदालतका केही फैसलाको पुनरावलोकन हुनुपर्ने धारणा राखे । अदालतका निर्णय कानुनी रूपमा वैध भए पनि त्यसले समाजमा कति स्वीकार्यता प्राप्त गर्छ भन्ने विषय पनि महत्वपूर्ण हुने उनको तर्क थियो ।



