काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन्। उनी शुक्रबार रुसको राजधानी मस्को गएका हुन्।
प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि रुस गएका छन्। उनीहरू स्थानीय समयअनुसार शुक्रबार राति साढे ११ बजे मस्को पुग्ने कार्यक्रम छ।
प्रचण्ड मस्कोमा नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘फर द फ्रिडम अफ नेसन्स’ (राष्ट्रहरूको स्वतन्त्रताका लागि) शीर्षकको विश्व सम्मेलनमा सहभागी हुनेछन्। अखिल रूसी राजनीतिक दलको आयोजनामा हुने सम्मेलनमा विश्वभरका कम्युनिस्ट नेताहरूको सहभागिता रहने बताइएको छ।
सम्मेलनमा शक्तिशाली राष्ट्रहरूले कमजोर तथा विकासशील मुलुकमाथि आर्थिक, राजनीतिक र रणनीतिक प्रभाव विस्तार गर्ने प्रवृत्तिको विरोध गर्दै प्रत्येक देशले आफ्नो राजनीतिक प्रणाली, विकासको बाटो र राष्ट्रिय नीति आफैँ निर्धारण गर्न पाउनुपर्ने मान्यतामाथि छलफल हुनेछ।
विश्वमा बहुध्रुवीय व्यवस्था स्थापना तथा विकासशील र ग्लोबल साउथका मुलुकबीच राजनीतिक एवं आर्थिक सहकार्य विस्तार गर्ने विषय पनि सम्मेलनको प्रमुख एजेन्डा रहेको छ।
रुसमा रहँदा प्रचण्डले सम्मेलनमा सहभागिताका साथै विभिन्न भेटघाटसमेत गर्ने उनका स्वकीय सचिव केशव रावलले जानकारी दिएका छन्। पाँच दिनको भ्रमण पूरा गरी प्रचण्ड नोभेम्बर १९ मा स्वदेश फर्किनेछन्।


