दाङ । पछिल्लो समय तोरी उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । दाङ जिल्लामा तोरी खेतीप्रति किसानको आकर्षण बढ्दै जाँदा उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जानकारी दिएका छन् । प्रमुख भण्डारीका अनुसार दाङको तोरीको तेलको माग काठमाडौँ, पोखरा, चितवन र नेपालगन्जलगायतका शहरहरुमा बढ्दो छ। “पहिलेदेखि नै दाङको तोरी बाहिरी जिल्लामा लोकप्रिय बन्दै आएको छ,” उनले भने । उत्पादन भएको तोरी सहज रूपमा बिक्री हुने भएकाले किसानहरू थप उत्साहित बनेका छन् । बजारको समस्या नहुँदा तोरी खेती गर्ने किसानको संख्या र क्षेत्रफल दुवै बढेको उनले बताए ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित तोरी जोन कार्यक्रमले पनि उत्पादन वृद्धिमा योगदान दिएको छ । आर्थिक वर्ष २०७९÷८० मा एक हजार २०० हेक्टर क्षेत्रफलमा खेती गर्दा एक हजार ९३२ मेट्रिक टन उत्पादन भएको थियो । आव २०८०÷८१ मा सोही क्षेत्रफलमा दुई हजार चार मेट्रिक टन उत्पादन भएको थियो ।

आव २०८१÷८२ मा एक हजार २४२ हेक्टरमा दुई हजार १२३.८२ मेट्रिक टन तथा आव २०८२÷८३ मा एक हजार २७८.०२ हेक्टरमा दुई हजार १९८.१९ मेट्रिक टन तोरी उत्पादन भएको तथ्यांक छ । प्रतिहेक्टर उत्पादकत्व १.७२ मेट्रिक टन रहेको परियोजनाका प्राविधिक सहायक सूर्यज्योति केसीले बताए ।

Nepal Telecome

तोरी जोन कार्यक्रम पश्चिम क्षेत्रका दङ्गीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका केही वडामा सञ्चालनमा छ । कार्यक्रमअन्तर्गत किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्राविधिक सहयोग तथा आधुनिक प्रविधिमा सहुलियत प्रदान गरिएको छ ।

किसानले प्रतिक्विन्टल रु १४ हजारसम्म तोरी बिक्री गरेको बताएका छन् । छोटो अवधिमा उत्पादन लिन सकिने बाली भएकाले गहुँ खेती गर्ने किसानसमेत तोरीतर्फ आकर्षित भइरहेका छन् । जिल्लामा विशेषगरी शान्तिनगर, बबई र दङ्गीशरण क्षेत्रमा व्यावसायिक तोरी खेती विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।