रौतहट । रौतहटको गरुडा क्षेत्रमा सडक सुरक्षालाई मजबुत बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी साधन चेकजाँच अभियानलाई तीव्र पारिएको छ ।
यातायात व्यवस्था कार्यालय रौतहट, इलाका प्रहरी कार्यालय गरुडा र अस्थायी ट्राफिक पोस्ट गरुडाको संयुक्त पहलमा सोमबार बिहानैदेखि विशेष अपरेसन चलाइएको हो ।
अभियानका क्रममा सडकमा गुड्ने सवारी साधनहरूलाई रोकी चालकहरूको अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब (ब्लु–बुक) लगायतका आवश्यक कागजातहरूको सूक्ष्म जाँच गरिएको थियो । साथै, ट्राफिक नियमको महत्त्वबारे चालक र सह–चालकहरूलाई स्थलगत सचेतना समेत प्रदान गरिएको छ ।
चेकजाँचका क्रममा कागजात साथमा नबोक्ने र ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूलाई पहिलो पटकका लागि सम्झाइ–बुझाइ गरी छोडिएको प्रहरीले जनाएको छ । तर, आगामी दिनमा नियम उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी सम्बन्धित निकायले दिएको छ ।
सडक सुरक्षा कायम गराउन यातायात अधिकृत कामेश्वर साह र अस्थायी ट्राफिक पोस्ट गरुडाका प्रहरी सहायक निरीक्षक (असई) उपेन्द्र कुमार यादव आफैं सडकमा खटिएका थिए। ‘हाम्रो मुख्य उद्देश्य दुर्घटना न्यूनीकरण गर्नु र चालकहरूलाई जिम्मेवार बनाउनु हो,’ अनुगमनका क्रममा अधिकारीहरूले भने ।
पछिल्लो समय गरुडा खण्डमा बढ्दो सवारी चापलाई मध्यनजर गर्दै ट्राफिक नियम पालनामा कडाइ गर्न यो सक्रियता देखाइएको हो ।
