काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र ब्लु डाइमण्ड सोसाइटी(नील हिरा समाज)का प्रतिनिधिहरुबीच भेटवार्ता भएको छ ।

Nepal Telecome

भेटका क्रममा नील हिरा समाज र लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको महासंघ नेपालसँग आबद्ध संस्थाहरूका प्रतिनिधिहरुले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय नामाकरण गर्ने नेपाल सरकारको ऐतिहासिक निर्णयप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

समाजले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवाललाई मन्त्रालयको कार्यक्षेत्रमा समावेश गरिएको निर्णयलाई महत्वपूर्ण र ऐतिहासिक उपलब्धिका रूपमा लिएको जनाएको छ।

सो अवसरमा मन्त्री वादीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हक, अधिकार, सम्मान र सामाजिक सुरक्षाका विषयमा मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै आगामी दिनमा सम्बन्धित सरोकारवालासँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताइन् ।
भेटका लागि समूदायका तर्फबाट सांसद भूमिका श्रेष्ठ, नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल, लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको महासंघ नेपालकी सिम्रन शेरचन, अभियन्ताहरु पीटर राई, टीकाराम भुसाल, भक्ति शाह, पेजी लामा, सुदिप गौतमलगायत सहभागी थिए ।

भेटका क्रममा उनीहरुले समूदायका व्यक्तिहरुका लागि नीतिगत र कानुनी जटिलताहरुका बारेमा अवगत गराएका थिए ।