काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष समारोहमार्फत चलचित्र सार्वजनिक गरिएको हो।
घोषणा कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिक टोलीसँगै नेपाली चलचित्र क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चलचित्रको सफलताको शुभकामना व्यक्त गरे।

अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। कार्यक्रममा बोल्दै उनले रघुजी फिल्म्सबाट यसअघि घोषणा गरिएका अन्य चलचित्र परियोजनाहरू पनि यस चलचित्रपछि क्रमशः निर्माण प्रक्रियामा अघि बढाइने जानकारी दिए।
चलचित्रका गीत चर्चित गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायाङ्कनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्। निरज नेपाल कार्यकारी निर्माता रहेको चलचित्रमा शमशेर लामाले शृंगार तथा जीवन पोखरेलले भेषभूषाको जिम्मेवारी निर्वाह गर्नेछन्।

चलचित्रमा गायक पशुपति शर्मा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, बेगम नेपाली, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना र राजु तिमल्सिनालगायत कलाकारहरूको अभिनय रहनेछ।
पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ ले हास्य, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ पस्किने निर्देशक अमरदीप सापकोटाले बताए।
चलचित्रको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।



